काठमाडौं। नेकपा एमालेका तर्फबाट संखुवासभा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.अर्जुन कार्कीले जिल्लाको दिगो विकासका लागि जलस्रोत, पूर्वाधार, पर्यटन र स्थानीय रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चुनावी अभियानका क्रममा भोटखोला संखुवासभामा आयोजित कार्यक्रममा बोल्दै डा. कार्कीले जलस्रोतको हिसाबले संखुवासभा मुलुककै धनी जिल्लामध्ये पर्ने उल्लेख गरे ।
उनले जलस्रोत विकास गर्दा स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने मोडेल अपनाउनुपर्नेमा जोड दिए । ‘यहाँका जलस्रोतको विकास गर्दा स्थानीय जनतालाई शेयर उपलब्ध गराएर उनीहरूलाई नै सबभन्दा बढी फाइदा हुने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।
डा.कार्कीले जिल्लामा निर्माण भइरहेका भौतिक पूर्वाधार, विशेषगरी ग्रामीण सडकलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले चतरा–लेगुवा घाट हुँदै अरुण नदीको किनारैकिनार किमाथंकासम्म र त्यहाँबाट लासासँग जोडिने दक्षिण एसियाकै महत्वपूर्ण अन्तर्राष्ट्रिय राजमार्ग निर्माण गर्न सकिने सम्भावनाबारे धारणा राखे । ‘यदि यस्तो अन्तर्राष्ट्रिय स्तरको राजमार्ग निर्माण भयो भने संखुवासभा अन्तर्राष्ट्रिय बजार र पर्यटनको केन्द्र बन्न सक्छ,’ उनले बताए ।
मकालु–बरुण संरक्षण क्षेत्रलाई विश्वकै ठूलो पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्दै डा. कार्कीले स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए ।
उनले अन्तर्राष्ट्रिय पर्यटक, जैविक विविधता तथा अनुसन्धानमा संलग्न विज्ञहरूलाई आकर्षित गर्न सके जिल्लामात्र होइन, समग्र देशको आर्थिक र सामाजिक विकासमा योगदान पुग्ने उल्लेख गरे ।
यसैगरी, उनले संखुवासभामा पाइने जडीबुटी र अन्य स्थानीय उत्पादनको व्यावसायिक विकास गरी गाउँ–गाउँमा साना उद्योग स्थापना गर्ने र घर–घरमा रोजगारी सिर्जना गर्ने एमालेको योजना रहेको बताए । “स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै हाम्रो लक्ष्य हो,” उनले भने ।
डा. कार्कीले संखुवासभाको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको भन्दै मतदातासँग सहयोग र समर्थनको आग्रह पनि गरेका छन् ।










प्रतिक्रिया