काठमाडौं । उज्यालो नेपाल पार्टीका प्रवक्ता डा.राजु थापाले छोटो समयमै पार्टीले जनताको अतुलनीय विश्वास जितेको दावी गरेका छन् । उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट नतिजा ल्याउने पनि बताए ।
उज्यालो नेपाल पार्टीको मुल एजेन्डा भनेको हालसम्मका परिवर्तनहरुलाई संस्थागत गर्दै लैजाने र आर्थिक रुपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने रहेको पनि उनले सुनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता र त्यसपछिका घट्नाक्रमले संगठनमा केही असर परेपनि विस्तारै माहोल परिवर्तन हुँदै गएको र शुभेच्छुकहरुको सद्भाव बढ्दै गएको उनले बताए ।
‘हाम्रो पार्टी स्थापनाका क्रममा जुन किसिमको भरोसा थियो त्यो रास्वपासँगको एकताका क्रममा केही तलमाथि भएको हो तर अब हामी नयाँ मोडालिटी अनुसार अघि बढिसकेका छौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेद्वार टुंगाएर निर्वाचन परिचालन समिति नै बनाएर अघि बढेका छौं,’ उनले अगाडि भने,‘हामी रणनीति बनाएरै अगाडि बढेका छौं । गफ होइन अब काम गर्नुपर्छ भन्ने रणनीति अपनाएका छौं ।’
उज्यालो नेपाल पार्टीसँग आशालाग्दो नेतृत्व, बलियो टिम र प्रष्ट भिजन भएकाले अझै धेरै काम गरेर देखाउन सकिने उनले बताए । ‘पार्टी नेतृत्वले गरेको कामका बारेमा आम नेपाली जानकार नै छन् । गफ होइन, काम गर्ने मान्छेलाई मत दिनुपर्छ भन्ने किसिमको जनलहर देखिएको छ,’ प्रवक्ता डा.थापाले प्रष्ट पारे ।
थोरै चुक्नुपर्यो
प्रवक्ता थापाले रास्वपासँग सहकार्यका क्रममा टेक्निकली केही गल्ती भएको स्वीकार्दै भने,‘एकताका क्रममा केही समस्या आयो । जसका कारण एउटै चुनाव चिन्हबाट अघि बढ्न सकेनौं । प्रत्यक्ष र समानुपातिकमा एउटै चुनाव चिन्ह पार्न सकेनौं । समानुपातिकको हकमा ‘बाँसुरी’ र प्रत्यक्षमा ‘बलिरहेको चिम’ चुनाव चिन्ह लिएर जानुपर्ने अवस्था आयो । यसमा हामी केही चुक्यौं । तर पनि उर्जा, भरोसा र आशा जीवित नै छ । त्यो कालखण्ड वाध्यता थियो र सोही अनुसार अघि बढ्नुपर्यो ।’
जेनजी पुस्ता र आन्दोलनमा सहभागी युवाहरुको सहभागितामा बनेको ‘राष्ट्रिय परिवर्तन पार्टी’ सँग एकता गरेको र सोही पार्टीको चुनाव चिन्ह लिएर समानुपातिकमा जानुपरेको उनले सुनाए ।
‘दुई पार्टीको एकतापछि समानुपातिकमा ‘बाँसुरी’ र प्रत्यक्षमा ‘बलिरहेको चिम’ चुनाव चिन्ह लिएर अघि बढेका छौं । यसले कता कता कन्फ्युजन मतदातामा पर्न सक्छ । त्यसलाई हामीले चिर्नु पर्नेछ,’ उनले भने ।
सुरक्षामा समस्या नहोस्
आसन्न निर्वाचनमा सुरक्षाको थ्रेट हालसम्म नदेखिएपनि संवेदनशील भएर काम गरिरहेको पनि डा.थापाले बताए । ‘सुरक्षा थ्रेटहरू अहिलेसम्म हामीले महसुस गरेका छैनौं । आउँदा दिनमा त्यस्तो कुनै समस्या भयो भने केन्द्रीय निर्वाचन परिचालन समितिले विशेष भूमिका निर्वाह गर्नेछ । रणनीतिहरू निर्धारण गरेर उम्मेदवारहरूलाई सुरक्षा दिनको लागि पार्टीले कुनै पनि कसर बाँकी राख्नेछैन ,’ उनले भने ।
उज्यालो नेपाल पार्टीले प्रत्यक्षतर्फ १२१ जना को उम्मेदवारी दर्ता गराएको र समानुपातिकतर्फ ४९ जनाको उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए ।
‘रुपान्तरण संभव छ’
आर्थिक रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने बारेमा सोच्नसक्ने र प्रष्ट चेत भएको नेतृत्व उज्यालो पार्टीसँग रहेको दाबी गर्दै डा.थापाले नेपालका लागि कुलमान घिसिङ अब्बल व्यक्ति रहेको उनले दाबी गरे ।
‘कुलमान घिसिङले नेपालमा लोडसेडिङ मुक्त गराएको कुरा जगजाहेर छ । स्वदेश तथा विदेशका नेपालीहरुले उहाँको नेतृत्वमा भएको परिवर्तन प्रष्ट देखेका छन् । जतिखेर नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो, त्यतिखेर प्रख्यात विज्ञहरूसँग कुरा गर्दा लोडसेडिङ अन्त्य गर्न १० वर्ष लाग्छ भन्नुहुन्थ्यो । तर उहाँ (कुलमान घिसिङ) आउने बित्तिकै चामत्कारिक ढंगले लोडसेडिङको अन्त्य गरिदिनुभयो । भनेपछि गर्न खोज्यो भने त सम्भव रहेछ नि । यस्तो परिवर्तनलाई आर्थिक रूपान्तरणसँग जोड्न सकिन्छ । हामीसँग अथाह सम्भावना छन्। समृद्धि सम्भव छ । समृद्धि आउनेवित्तिकै सुशासन र सामाजिक न्यायका कुराहरू पनि अटोमेटिकली आइहाल्छन । त्यसले पटक पटक हुने गरेका क्रान्ति र आन्दोलनहरुको अन्त्य हुनसक्छ । परम्परागत राजनीतिक दलहरूले त्यो गरिरहेका छैनन् र त्यो ग्याप कुलमान घिसिङज्यूको नेतृत्वले सम्बोधन गर्न सक्छ, डेलिभरी दिन सक्छ’ उनले प्रष्ट पारे ।
उज्यालो नेपाल पार्टीमा ४० प्रतिशत युवा
उज्यालो नेपाल पार्टीले हाल आफ्नो संगठन संरचनाभित्र झन्डै ४० प्रतिशत युवालाई अवसर प्रदान गरेको प्रवक्ता डा.थापाले जानकारी दिए । ‘हाम्रो पार्टी युवाहरुको आन्दोलनबाटै जन्मिएको हो, मुलुक परिवर्तनकै लागि स्थापना गरेका हौं । झन्डै ४० प्रतिशत युवाहरु समावेश गराएका छौं । विशेष गरेर जेनजी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नवयुवाहरु उल्लेख्य संख्यामा हुनुहुन्छ । युवा सहभागिता न्यून छ भन्ने आरोपबाट हामी मुक्त छौं,’ उनले भने ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमै ४० वर्ष मुनीका झन्डै ४० प्रतिशत युवाहरु रहेको बताउंदै उनले प्रत्यक्ष र समानुपातिकमा युवाहरु सहभागितामा कमी नगरेको उनले बताए ।
उज्यालो नेपाल पार्टी जेनजी आन्दोलन पछाडि आन्दोलनको मर्मलाई ख्याल गरेर स्थापना भएको पार्टी भएकाले जेनजी घाइतेको नेतृत्वमै बनेको पार्टीलाई पनि आवद्ध गराएको उनले बताए ।
‘एजेन्डामा प्रष्ट छौं’
प्रवक्ता डा.थापाले पार्टीले स्पष्ट एजेन्डासहित अघि बढेको बताउँदै मुलुकमा अब थप कुनै किसिमको आन्दोलन वा क्रान्ति गर्नु नपर्ने गरी एजेन्डाहरु तय गरेको बताए ।
‘एजेन्डाहरूको कुरा गर्दा विगतमा धेरै क्रान्तिहरू भए । हरेक १०–१५ वर्षको बीचमा क्रान्ति भइरहेको छ । आन्दोलनहरू भइरहेका छन् । ति आन्दोलन किन संस्थागत हुन सकेनन् भने उपलब्धिहरूलाई आर्थिक रूपान्तरणसँग जोड्न सकेनौं । आर्थिक रूपान्तरण नभएको कारणले गर्दा मान्छेमा वितृष्णा जाग्यो र फेरि आन्दोलनको सिलसिला चलिरह्यो । त्यसकारण अब गफ मात्र नभइ काम गर्नुपर्छ भन्ने हिसाबले रणनीति बनाएका छौं । निर्वाचन आयोगमा दर्ता भएको अवधारणापत्रमा स्पष्ट लेखेका छौं, चुनावी घोषणापत्र पनि लगभग तयार भइसकेको छ । चुनावी घोषणापत्रमा पाँच वर्ष, १० वर्ष, १५ वर्षमा के गर्ने भन्ने कुराहरूलाई प्राथमिकीकरण गरेका छौं,’ उनले भने ।
काम गर्दा परिणाम आउँछ र मार्गदर्शनअनुसार अगाडि बढ्दा आर्थिक रूपान्तरण सम्भव हुने प्रवक्ता डा.थापा विश्वस्त छन् । ‘आर्थिक रूपान्तरणभन्दा पहिला सुशासनको कुरा आउँछ र सुशासन प्रदान गर्न सकियो भने आर्थिक रूपान्तरण, समृद्धि, सामाजिक न्याय पनि दिन सकिन्छ । सोही अनुसार एजेन्डाहरू तयार गरेर अगाडि बढेका छौं । र केही दिनमा चुनावी घोषणापत्र पनि सार्वजनिक हुन्छ,’ उनले जानकारी दिंदै भने ।
‘क्षेत्र अनुसार रणनीति’
उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा क्षेत्र अनुसार चुनावी रणनीतिहरु अगाडि बढाएको उनले जानकारी दिए । हालसम्म कुनै दलसँग चुनावी तालमेल गर्ने रणनीति नभएपनि चुनावका क्रममा कहीं कतै तालमेलको वातावरण बन्नसक्ने उनको भनाइ छ ।
‘तालमेलको अहिलेसम्म कुनै ठोस प्रस्तावहरू आएको छैन । कतिपय ठाउँहरू एकदम रणनीतिक रुपमा अगाडि बढ्नुपर्ने हुनसक्छ । त्यसको लागि हामी खुला छौं । मन मिल्ने, विचार मिल्ने र एजेन्डा मिल्नेसँग तालमेल हुनसक्छ । हामी सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा रहेकाले सो अनुसार अघि बढ्नेछौं । अग्रगामी र परिवर्तनकारी शक्तिहरूसँग हाम्रो तालमेल हुनसक्छ,’ उनले प्रष्टाए ।
आफ्नो पार्टीको प्रतिस्पर्धीका रुपमा पुराना र नयाँ पार्टी नै रहेको उनले औल्याए । आफूहरु जहाँ समस्या आउँछ, त्यहाँ समाधान खोजेर अगाडि बढिरहेकाले सफल हुने उनले बताए ।
१२ माघ २०८२, सोमबार
46
Shares









प्रतिक्रिया