Logo

मनोरञ्जन

के हो टिकटकमा लोकप्रिय भइरहेको ‘एड सम कलर’ ट्रेण्ड ?



काठमाडौं । ‘आउने सालैमा लगनगाँठो, साइत जुराई’ यो बोलको गीत पछिल्लो समय टिकटकमा निकै चर्चामा छ । तपाईंले टिकटक चलाउँदै गर्दा यो गीत पक्कै हेर्नुभएको छ ।

टिकटक प्रयोगकर्तामाझ अत्यधिक रुचाइएको यो गीतमा भिडिओ बनाउँदा ‘एड सम कलर’ भन्ने ट्रेण्ड चलेको छ । जहाँ आफ्नो सादा जीवनमा रङ्ग भर्नेलाई प्रयोगकर्ताले जोडेको देख्न सकिन्छ । हालसम्म यस गीतमा आधारित लाखौं भिडियो बनिसकेका छन् भने ती भिडियोले लाखौँ भ्युज पाएका छन् ।

धेरै प्रयोगकर्ताले आफ्नो प्रेमी वा प्रेमिका जीवनमा आएपछि खालिपन हराएको र जीवन रङ्गीन बनेको सङ्केत गर्दै भिडिओ बनाईरहेका छन् । प्रयोगकर्ताले ‘आउने सालैमा लगनगाँठो, साइत जुराई’ लाई प्रयोग गर्दै धेरै भिडिओ बनाएका छन् । पछिल्लो समय टिकटक भिडिओ र फेसबुक रील्स बनाउने ट्रेण्ड नै सुरू भएको छ । यो ट्रेन्डले गीतसँगै फिल्मको हाइप बढाउन पनि मदत गर्ने देखिन्छ ।

उक्त बोल आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रमिताको पिरती’मा समावेश गीत ‘तिमी भए काफी’को एक अंश हो । गायक समीर श्रेष्ठको स्वर रहेको गीतमा सास्वतको सङ्गीत छ । गीतको भिडियोको छायांकन (डीओपी) झोलेले गरेका हुन् । अहिले यो गीत सामाजिक सञ्जालमा रील्स, टिकटक र स्टोरीमा व्यापक रूपमा प्रयोग भइरहेको छ ।

‘ब्रेकअप स्टोरी’ भनिएको फिल्म ‘रमिताको पिरती’को शीर्ष भूमिकामा आना शर्मा छिन् । फिल्ममा प्रेम सम्बन्ध टुङ्गिएपछि पात्रले गर्ने यात्राको कथा प्रस्तुत गरिएको छ । रोमान्टिक गीत ‘तिमी भए काफी’मा आना शर्मासँगै गायक समीर श्रेष्ठ पनि फिचर्ड छन् । गीतमा यी दुई पात्र ट्राभलको क्रममा भेट भएको प्रसङ्ग देखाइएको छ ।

थाइल्याण्डका रमणीय लोकेसनमा छायांकन गरिएको गीतको भिडियोमा आना र समीर रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । भिडियोमा दुवै कलाकारबीचको सामिप्यतालाई आकर्षक ढंगले चित्रण गरिएको छ । गीतको कोरियोग्राफी र सिनेमाटोग्राफीले पनि दर्शकको ध्यान खिचिरहेको छ । सुदिप्ताको निर्देशनमा बनेको यस फिल्मका सह निर्माता सुवास कोइराला र निर्माता सागर लम्साल हुन् । फिल्ममा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, गियना र थिन्ले लामो लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म सुदिप्ताकै लेखनमा तयार भएको छ । ‘ब्रेकअप स्टोरी’ भनिएको फिल्म ‘रमिताको पिरती’मा प्रेम सम्बन्ध टुंगिएपछि पात्रले गर्ने भावनात्मक यात्राको कथा प्रस्तुत गरिएको छ । फिल्ममार्फत आना शर्मा निर्माण पक्षमा पनि जोडिएकी छन् । उनले अभिनयसँगै कार्यकारी निर्मात्रीको भूमिका निर्वाह गरेकी छन् । सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आर.पी. प्रोडक्सन एसोसिएट निर्माता, निर्देशकसमेत रहेका सुवास कोइराला सह निर्माता छन् भने सागर लम्साल निर्माता छन् ।

फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको सङ्गीत रहेको छ । शिशिर विषंखे डीओपी रहेको फिल्मको सम्पादन सुनिल सिवाकोटीले गरेका छन् भने शिशिर विशंखेको छायांकन, कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी रहेको छ । काठमाडौं उपत्यकामा फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

कन्सर्ट गर्दै गीत सार्वजनिक

लोकप्रिय गायक तथा र्यापर कुशल पोखरेलले नेपाली फिल्म ‘रमिताको पिरती’ का लागि ‘फोन नगर’ बोलको गीत तयार गरेका छन् । सुदिप्ताको निर्देशनमा बनेको उक्त फिल्मको गीत माघ १ गते बुटवलमा आयोजित कन्सर्टमार्फत पहिलो पटक सार्वजनिक रुपमा प्रस्तुत गरिएको थियो ।

आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ को प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कन्सर्टमा कुशलले प्रत्यक्ष रूपमा गीत प्रस्तुत गरेपछि गीतको भिडिओ प्रदर्शन गरिएको थियो । यद्यपि गीतलाई युट्युबमा शुक्रबार बेलुकी मात्र सार्वजनिक गरिएको छ ।

कन्सर्टमा कुशलसँगै आना शर्मा, समीर श्रेष्ठ, महेश काफ्ले, जेम्सी, हुलाकीलगायत कलाकारले प्रस्तुति दिएका थिए । पाँच हजारभन्दा बढी दर्शकको उपस्थितिमा कुशलले गीत गाएपछि दर्शकले ‘वान्स मोर’ भन्दै उत्साह व्यक्त गरेका थिए ।

सार्वजनिक गीतमा शब्द र स्वर स्वयं कुशल पोखरेलकै रहेको छ । स्रोताको रुचि र आधुनिक सङ्गीत शैलीलाई ध्यानमा राखेर तयार गरिएको गीतको सङगीत निर्माण चर्चिल भुसालले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ केपासले गरेका छन् । गीतको भिडिओमा कुशल पोखरेल र आना शर्मा फिचर्ड छन् । झोलेइज्मको निर्देशन, छायाङ्कन र सम्पादनमा तयार भएको भिडिओमा जेस्टीको कोरियोग्राफी रहेको छ । भिडिओमा जेनिश महर्जन छायाँकार र ऋषिक प्रधान रचनात्मक निर्देशकका रूपमा संलग्न छन् ।

कुशल पोखरेलले निर्माण टिमको लगाव र निर्देशक सुदिप्ताको सक्रियता देखेर सहकार्य गर्न तयार भएको बताए । उनले भने, ‘हाम्रो भाइब मिल्यो। आपसी छलफलपछि झन्डै सातौँ ड्राफ्टमा पुग्दा शब्दमा सहमति बनेको हो । यो ब्रेकअप स्टोरी भएकाले ब्रेकअपपछि केटीको दृष्टिकोणबाट गीत तयार गरिएको छ ।’

गीतको भिडिओमा काम गर्दा आफूलाई निकै रमाइलो लागेको उल्लेख गर्दै कुशलले ‘फोन नगर’ले युवापुस्ताको ब्रेकअपपछिको कथालाई बोलेको बताए । ‘यो गीत बनाउने कुरा झन्डै एक वर्षअघि भएको थियो । आ–आफ्नो काममा व्यस्त भए पनि अन्ततः फेरि भेटेर एउटा सिर्जना तयार गरेका छौँ । अलि समय लागेपनि कडा चिज निस्किएको जस्तो लागेको छ, दर्शक प्रतिक्रियाको प्रतीक्षमा छु’, कुशलले भने ।

उक्त कन्सर्टमा महेश काफ्लेले ‘जुनीभर’ र समीर श्रेष्ठले ‘तिमी भए काफी’ गीत प्रस्तुत गरेका थिए भने आना शर्माले पर्फर्मरका रूपमा साथ दिएकी थिइन् । निर्माता सागर लम्सालका अनुसार विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौंमा पनि कन्सर्ट आयोजना गरिनेछ, जहाँ फिल्मसँग सम्बन्धित गायक गायिकाले प्रस्तुति दिनेछन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ३ : १० बजे