जनकपुर । प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्ने ऐतिहासिक मकर मेला आजदेखि सुरु भएको छ ।
धनुषाको धनुषाधाममा अवस्थित धनुष मन्दिरमा आजदेखि विधिवत मकर मेला सुरु भएको हो । मकर मेला एक महिनासम्म लाग्ने गर्छ तर यसको विशेषता भने प्रत्येक आइतबार दर्शन गर्न आउने श्रद्धालुभक्तजनको भीड हो ।
नेपाल र भारतका विभिन्न स्थानहरुबाट मकर मेलामा श्रद्धालुभक्तजनहरु आउने गर्छन् । आज विहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको देखिएको छ ।
सीता स्वयम्बरका बेला भगवान रामले तोडेको धनुषको तीन टुक्रामध्ये एक टुक्रा यहीँ धनुषाधाममा खसेको किम्वदन्ति रहेको छ । धनुषको टुक्रा खसेको टाउमा धनुष मन्दिर रहेको छ ।
शरीरको छालामा हुने रोग (एल्हा, दिनाई)बाट छुटकारा पाउन यस मन्दिरमा भाकल गरी भाण्टाको भार चढाउनाले ठिक हुने जनविश्वास रहेको छ ।
माघ महिनाको प्रत्येक आइतबार लाखौंको संख्यामा यस मन्दिरमा श्रद्धालुको भीड हुने गर्छ । पाँच आईतबार दर्शन गर्नाले सय रामेश्वरम दर्शन बराबर हुने जनविश्वास रहेको छ ।
माघ महिनाभरि यहाँ पत्रक र फलामका घरेलु उपकरण (हसिया, हथौडा, खुर्पी)को व्यापार हुने गर्छ । धनुषाधाम नगरपालिका र स्थानीय युवा क्लबहरुले यो मेला व्यवस्थापन गर्ने गरेको छ ।











प्रतिक्रिया