काठमाडौं । नेपाली रैथाने तथा नेवारी संगीतको प्रवर्द्धन गर्दै आएको चर्चित म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले काठमाडौंमा लाइभ म्युजिक प्रस्तुत गर्ने भएको छ ।
बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित २९ रिसोर्ट एन्ड फार्म हाउसमा पुस २६ गते (जनवरी १०) ‘कुटुम्ब लाइभ म्युजिक’ आयोजना हुने भएको हो ।
साँझ ५ बजेबाट सुरु हुने उक्त लाइभ कार्यक्रममा ‘कुटुम्ब’ले नेवारी गीतसंगीतसँगै अन्य मौलिक र चर्चित रैथाने धुनहरू पनि प्रस्तुत गर्नेछ । नेवारी रैथाने गीतसंगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएको ‘कुटुम्ब’को प्रस्तुति दर्शकका लागि विशेष हुने आयोजकको विश्वास छ ।
२९ रिसोर्ट एन्ड फार्म हाउसका सञ्चालकहरू दिमेश श्रेष्ठ, किरण श्रेष्ठ, सुसान्त श्रेष्ठ र कुमार श्रेष्ठका अनुसार कन्सर्टको टिकट मूल्य ५०० रुपैयाँ तोकिएको छ ।
सञ्चालक दिमेश श्रेष्ठका अनुसार, धेरै भीडभाड नहोस् र दर्शकलाई शान्त, सुरक्षित र गुणस्तरीय सांगीतिक अनुभव दिन सकियोस् भन्ने उद्देश्यले सीमित टिकटको व्यवस्था गरिएको हो ।
करिब चार करोड रुपैयाँको लगानीमा निर्माण भएको २९ रिसोर्ट एन्ड फार्म हाउस गत वर्षदेखि सञ्चालनमा आएको हो । प्राकृतिक वातावरण र रमणीय परिवेशबीच आयोजना हुने ‘कुटुम्ब लाइभ म्युजिक’ दर्शकका लागि अविस्मरणीय साँझ हुने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया