Logo

विश्व

हादीको मृत्युपछि बंगलादेशभर हिंसा, अखबार र कूटनीतिक कार्यालयमा आगजनी



काठमाडौं। युवा नेता शरीफ उस्मान हादीको मृत्यु भएपछि बंगलादेशभर व्यापक हिंसा फैलिएको छ। प्रदर्शनकारीहरूले प्रमुख सञ्चारमाध्यम, राजनीतिक दलका कार्यालय तथा कूटनीतिक निकायलाई लक्षित गर्दै आगजनी र तोडफोड गरेका छन्। फेब्रुअरी २०२६ मा हुने आम चुनावअघि सुरक्षा अवस्था गम्भीर बनेको छ।

इन्कलाब मञ्चका प्रवक्ता तथा आगामी संसदीय चुनावका उम्मेदवार हादीको बिहीबार सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको हो। गत डिसेम्बर १२ मा ढाकामा चुनावी प्रचारका क्रममा नकाबधारी हमलावरहरूले उनको टाउकोमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते हादीलाई प्रारम्भिक उपचारपछि सिंगापुर लगिएको थियो, जहाँ उनी ६ दिनसम्म जीवनरक्षक उपकरणमा राखिएका थिए।

हादीको मृत्युको खबर सार्वजनिक हुनासाथ ढाका सहित देशका विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन सुरु भए। प्रदर्शनकारीहरूले हादीको नाममा नारा लगाउँदै आगजनी र तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको छ। हिंसा नियन्त्रण गर्न सुरक्षाकर्मी र अर्धसैनिक बल परिचालन गरिएको छ।

एएफपीले उद्धृत गरेको दमकल अधिकारीका अनुसार प्रदर्शनकारीहरूले बंगलादेशका दुई प्रमुख दैनिक अखबार प्रोथोम आलोडेली स्टार का कार्यालयमा आगो लगाएका छन्। डेली स्टारको भवनमा लागेको आगो बिहीबार बिहान करिब १ः४० बजे नियन्त्रणमा लिइएको थियो। सडक अवरुद्ध गरिएकाले दमकल टोली पुग्न ढिलाइ भएको जनाइएको छ।

प्रदर्शनकारीहरूले ती अखबारहरू भारतसँग नजिक रहेको आरोप लगाएका छन्। उल्लेखनीय छ कि सन् २०२४ को विद्रोहपछि सत्ता गुमाएकी पूर्वप्रधानमन्त्री शेख हसिना हाल भारतमा निर्वासनमा बस्दै आएकी छन्।

यसैबीच, आवामी लिग पार्टीका विभिन्न कार्यालयमा आगजनी गरिएको छ। ढाकास्थित सांस्कृतिक संस्था छायानट को परिसरमा पनि तोडफोड र आगजनी भएको छ। उत्तर–पश्चिमी जिल्ला राजशाहीमा प्रदर्शनकारीहरूले बुल्डोजर प्रयोग गरी आवामी लिगको कार्यालय भत्काएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्।

चटगाँवमा प्रदर्शनकारीहरूले भारतीय सहायक उच्चायोगमाथि ढुंगामुढा गर्दै प्रदर्शन गरेका छन्। साथै, आवामी लिगका एक पूर्व शिक्षामन्त्रीको घरमा आगजनी गरिएको बीडी न्युजले जनाएको छ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले हादीको हत्या प्रकरणमा संलग्नलाई तत्काल पक्राउ गरिने घोषणा गरेका छन्। उनले हत्यारामाथि कुनै पनि प्रकारको नरमता नदेखाइने बताएका छन्। सरकारले हादीको सम्मानमा शनिबार राजकीय शोक दिवस पनि घोषणा गरेको छ।

शरीफ उस्मान हादी सन् २०२४ मा भएको विद्रोहका प्रमुख पात्रमध्ये एक थिए, जसका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सत्ता छोड्नुपरेको थियो। भारतका आलोचक मानिने हादीले ढाका–८ निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने घोषणा गरेका थिए।

सरकारले देशभर सुरक्षा व्यवस्था कडा बनाएको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : ०० बजे