काठमाडौं। मोरक्कोले जोर्डनलाई ३–२ ले पराजित गर्दै अरब कप फुटबलको उपाधि जितेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा मोरक्कोका अब्देरजाक हमेद अल्लाहले दुई गोल गरे भने उसामा टान्नानेले एक गोल गरे। जोर्डनका अली ओल्वानले दुई गोल फर्काए।
खेलको चौथो मिनेटमा टान्नानेले मोरक्कोलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको सुरुआती तीन मिनेटमै जोर्डनले बराबरी गोल फर्काउँदै खेललाई बराबरीमा ल्यायो। ४८औँ मिनेटमा ओल्वानले जोर्डनका लागि गोल गरे भने ६८औँ मिनेटमा उनले फेरि गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे।
८८औँ मिनेटमा अब्देरजाक हमेद अल्लाहले गोल गर्दै मोरक्कोलाई खेलमा फर्काए। इन्जुरी टाइममा अल्लाहको दोस्रो गोलपछि मोरक्कोले अन्ततः ३–२ को जित सुनिश्चित गरेको छ।
मोरक्कोले अब आगामी डिसेम्बर २१ देखि जनवरी १८ सम्म आयोजना हुने अफ्रिका महादेशीय फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन (अफ्क्न)मा भाग लिनेछ।










प्रतिक्रिया