Logo

मुख्य समाचार

राष्ट्र बैंकमा ७६ पदका लागि आवेदन खुला


१९ मंसिर २०८२, शुक्रबार  

69
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ७६ जनाका लागि आवेदन खुला गरेको छ।

केन्द्रीय बैंकले शुक्रबार प्रकाशित सूचना अनुसार, कुल ७६ पदमा आवेदन माग गरिएको छ। यसमा ४३ जना खुला, १० जना महिला, १० जना आदिवासी तथा जनजाती, ७ जना मधेशी, ३ जना दलित, २ जना अपाङ्गता भएका र ३ जना पिछडिएका क्षेत्रका नागरिकका लागि दरखास्त आह्वान गरिएको छ।

खुला प्रतिस्पर्धामा सहायक निर्देशक (अर्थशास्त्र), सहायक निर्देशक (व्यवस्थापन), सहायक निर्देशक (खुल्ला), सहायक निर्देशक (लेखा/लेखापरीक्षण), सहायक निर्देशक (वाणिज्य कानुन) र सहायक द्वितीय श्रेणीका पदमा आवेदन दिन सकिनेछ।

उक्त पदका लागि आवेदन दिने इच्छुक नेपाली नागरिकले २०८२ मंसिर १९ गतेसम्म (एकल दस्तुरसहित) विद्युतीय माध्यमबाट फारम बुझाउनुपर्नेछ। दोब्बर दस्तुर तिरी आवेदन दिनका लागि अन्तिम मिति २०८२ मंसिर २६ रहेको छ।

पद अनुसार योग्यताका शर्तहरू उल्लेख छन्। सहायक निर्देशक (अर्थशास्त्र) पदका लागि स्वदेशी विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तहमा प्रथम, द्वितीय वा तृतीय स्थान हासिल गरेको हुनुपर्नेछ। सहायक निर्देशक (व्यवस्थापन) पदका लागि व्यवस्थापन विषयमा स्नातकोत्तर तहमा प्रथम, द्वितीय वा तृतीय स्थान आवश्यक छ। सहायक निर्देशक (लेखा/लेखापरीक्षण) पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चार्टर्ड एकाउन्टेन्ट परीक्षा उत्तीर्ण हुनु पर्नेछ।

दरखास्त शुल्क सहायक निर्देशक, तृतीय श्रेणी (प्रति समूह) एक हजार रुपैयाँ, प्रत्येक थप समूहका लागि ५०० रुपैयाँ र सहायक द्वितीय श्रेणीका लागि प्रति समूह ८०० रुपैयाँ, प्रत्येक थप समूहका लागि ३०० रुपैयाँ तोकिएको छ।

उम्मेदवारहरूको छनोट पूर्व योग्यता परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ताको माध्यमबाट हुनेछ।

सूचना र आवेदनसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ३ : ०० बजे