काठमाडौं । बेलायतका प्रधानमन्त्री तथा लेबर पार्टीका नेता कियर स्टार्मरविरुद्ध पार्टीभित्रैबाट नै विद्रोहको प्रयास तीव्र बनेको छ। स्टार्मरले आफूलाई पदच्युत गर्न खोज्ने गतिविधि पार्टीभित्रै चलिरहेको संकेत दिएका छन्। उनका निकट सहयोगीहरूले पनि प्रधानमन्त्रीले सम्भावित चुनौतीको सामना गर्न तयारी अवस्थामा रहेको बताएका छन्।
बीबीसीका अनुसार स्टार्मरमाथि आगामी दुई हप्ताभित्र बजेट सार्वजनिक भएपछि पद संकट थप गहिरिन सक्ने आकलन गरिएको छ। पार्टीभित्रका केही प्रभावशाली सदस्यहरूले उनलाई नेतृत्वबाट हटाउने प्रयास भइरहेको आशंका व्यक्त गरेका छन्।
स्टार्मरकै मन्त्रिपरिषद्का एक मन्त्रीले नाम नखुलाउने सर्तमा बीबीसीसँग भनेका छन्, “उनी यसको सामना गर्न तयार छन्। उनी लेबर पार्टीका लागि आम निर्वाचन जित्ने जीवित दुई नेतामध्ये एक हुन्। चुनाव जितेको १७ महिनापछि उनलाई चुनौती दिन खोज्नु पागलपन हुनेछ।”
राजनीतिक वृत्तमा फैलिएका अफवाहअनुसार स्टार्मरलाई प्रतिस्थापन गर्नका लागि केही मन्त्रीहरूबीच विद्रोहको योजना बनिरहेको छ। स्वास्थ्य सचिव वेस स्ट्रिटिङलाई सम्भावित उत्तराधिकारीका रूपमा अघि सारिएको बताइएको छ। त्यस्तै, रक्षामन्त्री जोन हेलीलाई निरन्तरताका उम्मेदवारका रूपमा चिनाइएको छ।
अन्य सम्भावित नामहरूमा गृहमन्त्री शबाना महमुद, पूर्व उपप्रधानमन्त्री एन्जेला रेनर र ऊर्जामन्त्री एड मिलिब्यान्डको पनि चर्चा छ।
हालैको जनमत सर्वेक्षणमा लेबर पार्टीको समर्थन २० प्रतिशतभन्दा तल झरेको र पार्टी पाँचौँ स्थानमा पुगेको देखिएको छ। रिफर्म यूके पार्टीको समर्थन ३० प्रतिशतभन्दा माथि पुगेपछि स्टार्मरको नेतृत्वमाथि दबाब थपिएको हो।
स्टार्मरकै मन्त्रिपरिषद्का एक मन्त्रीले भनेका छन्, “यो अवस्था भयावह छ। यो स्थिति कोर्बिनको समयभन्दा पनि खराब बनेको छ। मलाई उनी मे महिनासम्म पदमा टिक्न सक्छन् जस्तो लाग्दैन।”
राजनीतिक विश्लेषकहरूका अनुसार स्टार्मरको नेतृत्वमा आएको जनसमर्थनको तीव्र गिरावट र पार्टीभित्र बढ्दो असन्तुष्टिले लेबर पार्टी गम्भीर आन्तरिक संकटमा फस्ने संकेत देखिएको छ।










प्रतिक्रिया