Logo

राजनीति

विश्वकै वृद्ध राष्ट्रपति पल बियाले लिए आठौँ कार्यकालको शपथ


२१ कार्तिक २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । क्यामरूनका ९२ वर्षीय राष्ट्रपति पल बियाले बिहीबार लगातार आठौँ कार्यकालका लागि शपथ ग्रहण गरेका छन्। उनी सन् १९८२ देखि सत्तामा छन् र यस पटकको निर्वाचनपछि पुनः सात वर्षका लागि राष्ट्रपति बनेका हुन्।

अक्टोबर १२ मा सम्पन्न निर्वाचनमा बियाले ५३.७ प्रतिशत मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्द्वी इसा चिरोमा बाकरीले ३५.२ प्रतिशत मत पाएका थिए। बाकरीले धाँधलीको आरोप लगाउँदै आफू नै वास्तविक विजेता भएको दाबी गरेका छन्। तर, सरकारले उक्त आरोप अस्वीकार गरेको छ।

निर्वाचनका क्रममा व्यापक विरोध प्रदर्शन भएको थियो। सरकारी कारबाहीमा कम्तीमा १४ जनाको मृत्यु र करिब १२ सय व्यक्ति पक्राउ परेका थिए।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति बियाले विरोधका क्रममा मारिएका पीडितहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै देशमा स्थायित्व कायम रहने प्रतिवद्धता व्यक्त गरे। उनले राजनीतिक अस्थिरताका लागि गैरजिम्मेवार नेताहरूलाई दोष दिँदै व्यवस्था भङ्ग गर्ने प्रयास व्यर्थ हुने चेतावनी दिए।

सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र बनेको क्यामरूनमा बिया दोस्रो राष्ट्रपति हुन्। उनी हाल विश्वकै सबैभन्दा वृद्ध सत्तारूढ राष्ट्रपतिको रूपमा रहेका छन्।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : ५१ बजे