Logo

मुख्य समाचार

पाक–अफगान वार्तामा गतिरोध, आतंकवादविरुद्ध तालिबानको असहयोग मुख्य कारण


१० कार्तिक २०८२, सोमबार  

23
Shares

काठमाडौं । टर्कीको इस्तानबुलमा आइतबार सम्पन्न पाकिस्तान र अफगानिस्तानबीचको द्विपक्षीय वार्ता गतिरोधमा टुंगिएको छ। अफगान तालिबानले तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) र अन्य आतंकवादी संगठनविरुद्ध ठोस कदम चाल्न अस्वीकार गरेपछि वार्ता निष्कर्षविहीन बनेको हो।

पाकिस्तानले अफगान भूमिमा आतंकवादी संगठनहरूको सक्रियता रहेको भन्दै ती समूहविरुद्ध ‘विश्वसनीय र ठोस’ कारबाही गर्न तालिबान सरकारसँग माग गर्दै आएको छ। तर अफगान पक्षले उक्त मागमा कुनै लिखित आश्वासन नदिँदा वार्ता रोकिएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।

करिब नौ घण्टासम्म चलेको छलफलमा पाकिस्तानी टोलीले तालिबान शासनले सीमापार आतंकवाद नियन्त्रणमा तुरुन्त कदम चाल्नुपर्ने अडान लिएको थियो। पाकिस्तानका एक वरिष्ठ सुरक्षा अधिकारीका अनुसार, “तालिबानद्वारा आतंकवादीहरूको संरक्षण अस्वीकार्य छ,” भन्दै उनले तालिबानको प्रतिक्रिया ‘तर्कहीन र वास्तविकता विपरीत’ रहेको आरोप लगाए।

वार्ता चलिरहेका बेला पाकिस्तान–नियन्त्रित कश्मीरको लीपा सेक्टरमा युद्धविराम उल्लंघन भएको खबर आएपछि दुवै पक्षबीचको अविश्वास झनै बढेको बताइएको छ। स्थानीयवासीका अनुसार आइतबार साँझ तीव्र गोलाबारी भएको थियो, यद्यपि आधिकारिक रूपमा हताहतको विवरण सार्वजनिक गरिएको छैन।

अफगान पक्षको नेतृत्व उप–गृहमन्त्री मौलवी रहमतुल्लाह नजीबले गरेका थिए भने टोलीमा वरिष्ठ नेता अना हकानी, सुहैल शाहिन, नुरुर रहमान नुसरत र अब्दुल कहार बाल्खी सहभागी थिए। पाकिस्तानको तर्फबाट आईएसआई, सैन्य अभियान निर्देशनालय र विदेश मन्त्रालयका उच्च अधिकारीहरू सहभागी थिए।

पाकिस्तानी अधिकारीहरूले तालिबानको असहयोगपूर्ण अडान अफगानिस्तान, पाकिस्तान र सम्पूर्ण क्षेत्रीय सुरक्षाका लागि हानिकारक भएको चेतावनी दिएका छन्। उनीहरूका अनुसार, आगामी वार्ताको सफलता तालिबानको ‘सकारात्मक र ठोस कदम’मा निर्भर रहनेछ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १ : ४५ बजे