Logo

प्रदेश

सरकारी सम्पत्तिको दुरुपयोग प्रकरणमा प्रादेशिक अस्पताल मलंगवाका मेसुमाथि छानबिन समिति गठन


१० कार्तिक २०८२, सोमबार  

46
Shares

सर्लाही । प्रादेशिक अस्पताल मलंगवामा सरकारी सम्पत्तिको दुरुपयोग भएको आरोपमा छानबिनका लागि तीन सदस्यीय समिति गठन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी शिव हरी पोखरेलको हस्ताक्षरमा आइतबार जारी पत्रका अनुसार, मेसु (मेडिकल सुपरिन्टेन्डेन्ट) संजीव कुमार सिंहले अस्पतालका सरकारी सामग्रीहरू व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको भन्ने समाचार सार्वजनिक भएपछि छानबिन समिति बनाइएको हो।

समितिको संयोजकमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जय किशोर साह रहेका छन्। सदस्यमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकी र कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका लेखापाल रामबाबु यादव छन्। समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

प्रशासनका अनुसार, सिंहले गत शुक्रबार अस्पतालका लाखौँ मूल्यका सरकारी सामग्रीहरू सरकारी गाडीमार्फत आफ्नै बिरगञ्जस्थित घरमा लगेका थिए। सिंह आगामी कार्तिक १७ गते अवकाशमा जान लागेका छन्।

सिंहमाथि यसअघि पनि अस्पतालका गाडीलाई व्यक्तिगत तथा घरायसी प्रयोजनमा प्रयोग गरेको र बिरामीलाई निजी अस्पतालमा रेफर गरी कमिशन लिने आरोप लाग्दै आएको थियो।

प्रशासनले घटनाको गम्भीरता हेर्दै विस्तृत छानबिन गरी आवश्यक कारबाहीका लागि प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : ०२ बजे