काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १५५ प्रतिशतसम्म ट्यारिफ लगाउने चेतावनी दिएका छन्। सोमबार उनले चीनलाई नोभेम्बर १ भित्र व्यापार सम्झौता गर्न निर्देशन दिएका हुन्।
ह्वाइट हाउसमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजसँगको भेटवार्ताका क्रममा ट्रम्पले धेरै देशहरूले अमेरिकाको फाइदा उठाउँदै आएको आरोप लगाउँदै अब त्यसो हुन नदिइने बताएका छन्।
ट्रम्पले छिट्टै दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुने जानकारी दिँदै उक्त भेट दुवै देशका लागि फाइदाजनक हुने विश्वास व्यक्त गरे। “हाम्रोबीच राम्रो सम्बन्ध छ। हामी यस्तो सम्झौता गर्नेछौं, जुन दुवै देशका लागि लाभदायक हुनेछ,” ट्रम्पले भने।
उनले चीनले अमेरिकी भटमास खरिद गर्ने अपेक्षा राख्दै सो सम्झौता विश्वका लागि पनि उपयोगी हुने दाबी गरे। ट्रम्पले आगामी वर्षको सुरुवातमा चीन भ्रमण गर्ने निम्तो पाएको र स्वीकार गरेको जानकारी पनि दिएका छन्।
यसअघि अमेरिका सरकारले अक्टोबर १० मा चीनमाथि १०० प्रतिशत अतिरिक्त महसुल लगाउने धम्की दिएको थियो।
यसैबीच, चीनले आफ्ना शीर्ष व्यापार वार्ताकार ली चेङग्याङलाई पदबाट हटाएको छ। उनी हालै अमेरिकासँग भएको चार चरणको व्यापार वार्तामा संलग्न थिए। उनलाई विश्व व्यापार संगठन (WTO) मा चीनका स्थायी प्रतिनिधि पदबाट हटाइएकाले उनको स्थानमा ली योङजीएलाई नियुक्त गरिएको छ।
यो परिवर्तन अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले ली चेङग्याङको व्यवहारको आलोचना गरेको केही दिनमै भएको हो।
(स्रोत: इकोनोमिक्स टाइम्स)
प्रतिक्रिया