काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा प्रमाणपत्र र प्रिडिप्लोमा तहका स्थगित तथा उत्तरपुस्तिका जलेर नष्ट भएका परीक्षाहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।
परिषद्ले आज सार्वजनिक सूचना जारी गर्दै भदौ २४ गतेदेखि २७ गतेसम्मका लागि स्थगित परीक्षा तथा त्यसअघिका मितिमा सञ्चालन भई प्रहरी कार्यालयहरूमा सुरक्षित राखिएका तर पछिल्लो विषम परिस्थितिका कारण आगजनीमा परी नष्ट भएका उत्तरपुस्तिकाहरूको परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
सूचना अनुसार स्थगित परीक्षाहरू आगामी कात्तिक ३० गतेदेखि र जलेका उत्तरपुस्तिकाका परीक्षाहरू मंसिर ४ गतेदेखि सुरु हुने छन्। सबै परीक्षा बिहान ७ बजेदेखि परीक्षा तालिकाअनुसार सञ्चालन हुने जनाइएको छ।
सीटीईभीटीले परीक्षामा सहभागी विद्यार्थीहरूलाई समयमै आवश्यक तयारी गर्न र परीक्षा तालिकाअनुसार परीक्षा केन्द्रमा उपस्थित हुन आग्रह गरेको छ।
प्रतिक्रिया