Logo

विश्व

ढाकाको केमिकल गोदाम र कपडा कारखानामा भीषण आगलागी, ९ को मृत्यु


२८ आश्विन २०८२, मंगलबार  

23
Shares

ढाका, बंगलादेश — बंगलादेशको राजधानी ढाकाको मीरपुर क्षेत्रको शियालबारीस्थित एक केमिकल गोदाम र कपडा कारखानामा मंगलबार राति भीषण आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। दर्जनौँ व्यक्ति घाइते भएका छन्।

फायर सर्भिस एन्ड सिभिल डिफेन्सका अनुसार आगो रूपनगर क्षेत्रमा रहेको बंगलादेश युनिभर्सिटी अफ बिजनेस एन्ड टेक्नोलोजी (BUBT) नजिकै रहेको गोदामबाट सुरु भएर छेउमै रहेको कपडा कारखानासम्म फैलिएको थियो।

दमकल टोलीले लामो प्रयासपछि आगो नियन्त्रणमा लिएको छ। फायर सर्भिसका अपरेसन निर्देशक लेफ्टिनेन्ट कर्नल मोहम्मद ताजुल इस्लाम चौधरीले मृतकका शव कारखानाको दोस्रो र तेस्रो तल्लाबाट बरामद गरिएको जानकारी दिएका छन्। उनका अनुसार, आगोबाट निस्किएको विषालु धुवाँका कारण निसास्सिएर उनीहरूको मृत्यु भएको हुन सक्ने अनुमान छ। यद्यपि, मृत्युको यथार्थ कारण पुष्टि हुन बाँकी रहेको छ।

जलेका तीन जनालाई ढाकास्थित नेसनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा भर्ना गरिएको छ भने अन्य घाइतेहरूलाई विभिन्न अस्पतालहरूमा उपचार गराइएको छ।

फायर सर्भिसका अधिकारी तल्हा बिन जसीमले घटनाको कारणबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। स्थानीय अधिकारीहरूले राहत तथा उद्धार कार्य अझै जारी रहेको जनाएका छन्।

(स्रोत: रोयटर्स)

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ८ : २२ बजे