Logo

विश्व

ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने घोषणा



काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलले आफ्नो सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने घोषणा गरेको छ। गाजा युद्ध अन्त्य गर्ने शान्ति सम्झौतामा योगदान पुर्‍याएको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्पको भूमिका ‘ऐतिहासिक’ रहेको बताएका छन्।

ट्रम्प यो सम्मान पाउने पहिलो गैर–इजरायली नागरिक हुनेछन्।

ट्रम्पले सोमबार इजरायली संसद् नेसेटलाई सम्बोधन गर्दै गाजा युद्ध अन्त्यलाई पश्चिम एसियाका लागि “ऐतिहासिक बिहानी” भनेका छन्। उनले युद्धकै क्रममा दुई वर्षसम्म हमासको नियन्त्रणमा रहेका २० जना बन्धकको मुक्तिसँगै आठ महिनामा आठ वटा युद्ध अन्त्य गरिएको दाबी गरे।

उनले शान्ति प्रक्रियामा अरब र इस्लामिक राष्ट्रहरूको भूमिकाको प्रशंसा गर्दै हमासमाथि दबाब सिर्जना गर्ने साझा प्रयासको सफलताका लागि आभार व्यक्त गरे।

सम्बोधनका क्रममा ट्रम्पले प्रधानमन्त्री नेतन्याहूको पनि प्रशंसा गरे। उनले भने, “नेतन्याहूसँग व्यवहार गर्न सजिलो छैन, तर यही कुरा उहाँलाई महान बनाउँछ।”

तर ट्रम्पको सम्बोधनका क्रममा संसद्मा अवरोध सिर्जना भएको थियो। नेसेटका सदस्य अयमान ओदेहले प्यालेस्टाइनलाई मान्यता दिनुपर्ने माग गर्दै विरोध जनाए।

ओदेहले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, “संसद्मा भइरहेको यो देखावटीपन असह्य छ। नेतन्याहूको यस्तो महिमामण्डनले गाजामा भएका मानवअधिकार उल्लंघनबाट उनीहरूलाई उन्मुक्ति दिन सक्दैन।”

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ४८ बजे