काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका विश्वविद्यालयहरूलाई परीक्षा सम्पन्न भएको मितिबाट तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत तीन बुँदे निर्देशन जारी गर्दै उनले समयमै परीक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनी दिएका हुन्।
“केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न आठ महिनादेखि एक वर्षसम्म लगाउँदा रहेछन्, जुन विद्यार्थीका लागि अपूरणीय क्षति हो,” मन्त्री पुनले उल्लेख गरेका छन्, “अबदेखि बढीमा तीन महिनाभित्र परीक्षाफल सार्वजनिक गर्नुपर्नेछ, नत्र अनुदान रोकिनेछ।”
उनका अनुसार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का करिब पाँच लाख विद्यार्थीको परीक्षाफल तीन महिनाभित्र प्रकाशित गर्न सफल भएको उदाहरण विश्वविद्यालयहरूले अनुकरण गर्नुपर्नेछ।
मन्त्री पुनले सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा प्रभावकारी बनाउन प्रत्येक विद्यालयमा अनिवार्य रूपमा एकजना कम्प्युटर शिक्षकको दरबन्दी थप्नुपर्ने बताएका छन्।
त्यस्तै, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरभित्र रहेको झाडी फाँडेर (ठूला रुखहरू नकाटी) सफा गर्ने, सुन्दर बगैँचा र फुटपाथ निर्माण गरी विश्वविद्यालय परिसरलाई आकर्षक बनाउने निर्देशन पनि दिएका छन्।










प्रतिक्रिया