Logo

समाचार

सुमना श्रेष्ठले रास्वपा छाडिन्



काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। आइतबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले पार्टी अध्यक्ष रवि लामिछानेतर्फ लक्षित गर्दै ‘गल्तीमाथि गल्ती गर्ने र त्यसको बोझ अरूलाई बोकाउने प्रवृत्ति’का कारण पार्टी छाडेको बताइन्।

श्रेष्ठले पार्टी नेतृत्वमाथि आलोचना गर्ने सदस्यहरूमाथि ‘मिडिया ट्रायल’ गर्ने प्रवृत्ति बढेको आरोप लगाउँदै यसलाई अस्वीकार्य बताइन्। उनले भनेकी छन्, “पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको बेलादेखि नै आलोचना गर्दै आएकी हुँ, तर कुनै सुधार भएन।”

रास्वपा सभापति लामिछानेले शनिबार भिडियो सन्देशमार्फत सुमना श्रेष्ठ पार्टी छोड्न लागेको संकेत दिएका थिए। उनले उक्त सन्देशमा सबै सदस्यको स्वतन्त्रताको सम्मान गर्ने र आफ्नो नेतृत्व बाधक नबन्ने बताएका थिए।

श्रेष्ठले पार्टी परित्यागसँगै कांग्रेस, एमालेलगायतका दलका तेस्रो पुस्ताका नेताहरूमाथि पनि आफ्ना नेताहरूलाई ‘पुजा गर्न बन्द गर्न’ आग्रह गरेकी छन्। उनका अनुसार गलत गर्ने नेतालाई पार्टीले हटाउन वा आफैं हट्नुपर्ने समय आएको छ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : २० बजे