काठमाडौं । ‘जेनजी’ पुस्ताले सुरु गरेको आन्दोलन देशव्यापी बनेपछि विभिन्न अस्पतालहरूमा घाइतेको चाप बढेको छ । राजधानीका प्रमुख अस्पतालहरूले आकस्मिक उपचारलाई प्राथमिकता दिँदै अन्य सेवा सीमित गरेका छन् ।
मीनभवनस्थित सिभिल अस्पतालले बिरामी चाप अत्यधिक भएपछि आकस्मिकबाहेक अन्य सेवा बन्द गरेको जनाएको छ । अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार स्रोतसाधन र जनशक्ति व्यवस्थापनमा कठिनाइ भएपछि ओपीडी र ओटी सेवा रोकिएको हो । उनका अनुसार हाल सो अस्पतालमा ४६ जना घाइतेको उपचार भइरहेको छ ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यले पनि आन्दोलनमा घाइतेलाई उच्च प्राथमिकता दिइएको बताए । उनका अनुसार हाल ५३ जना घाइतेको उपचार भइरहेको छ । उनले आकस्मिक सेवा सञ्चालनमै रहे पनि नियमित बिरामी अस्पतालसम्म आइपुग्न नसकेको र शल्यक्रिया हाललाई स्थगित गरिएको जानकारी दिए ।
राष्ट्रिय ट्रमा सेन्टरमा हाल ४० जना घाइतेको उपचार भइरहेको छ । तीमध्ये चार जनाको शल्यक्रियापछि आईसीयूमा राखिएको छ । ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालका अनुसार, एम्बुलेन्स तोडफोड र स्वास्थ्यकर्मी अभावले समस्या उत्पन्न भए पनि सेवा भने रोकिएको छैन ।
त्यस्तै, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले २४ घण्टा सेवा सञ्चालन भइरहेको जनाएको छ । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार आकस्मिक र ओपीडी सेवा निरन्तर चलाइएकामा शुल्कसहितका (पेइड) सेवा भने बन्द गरिएको छ ।
प्रतिक्रिया