काठमाडौं । जेनजी आन्दोलनका प्रमुख नेताहरूले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको तत्काल राजीनामा र नयाँ चुनावको तयारीसहित अन्तरिम नागरिक सरकार गठनको माग गरेका छन्।
वक्तव्यमा हालसम्म आन्दोलनका क्रममा ज्यान गुमाएका १९ युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल प्रहरीले ०६२/६३ को जनआन्दोलनताका भएको भन्दा बढी क्रूरता देखाएको आरोप लगाइएको छ। उनीहरूले प्रहरी बलले साधारण नागरिकका घर, अस्पतालसम्ममा आक्रमण गरेको र गोली चलाउनेदेखि परिवारलाई धम्की दिने कार्यसम्म गरेको बताएका छन्।
वक्तव्यमा भनिएको छ, “६ घण्टाभित्रै १९ जनाको हत्या कुनै पनि सभ्य समाजमा अस्वीकार्य छ। यो संख्या ०६२/६३ को जनआन्दोलनताका तत्कालीन सरकारद्वारा मारिएका मानिसहरूभन्दा बढी हो।”
जेनजी नेताहरूले पाँच बुँदे माग सार्वजनिक गरेका छन् :
१. आन्दोलनमा घाइते भएका सबैको उचित उपचारलाई राज्यले प्राथमिकता दिनु।
२. ज्यान गुमाएका प्रत्येक नागरिकलाई शहीदको मान्यता दिनु।
३. प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु र नयाँ चुनावको तयारीसहित नागरिक सरकार गठन गर्ने बाटो खोल्नु।
४. प्रहरी महानिरीक्षकले राजीनामा दिनु र जवाफदेही बन्नु।
५. प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी महानिरीक्षक, प्रमुख जिल्ला अधिकारीदेखि प्रत्येक प्रहरी अधिकारीसम्म विरुद्ध फौजदारी अनुसन्धान थालनी गरी मुद्दा दर्ता गर्नु।
वक्तव्यमा अभिजीत अधिकारी, युजन राजभण्डारी, राक्षस बम, प्रदीप ज्ञवाली, मनिष खनाल, तनुजा पाण्डे र बिनोद देउवाले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया