Logo

विश्व

चीनमा विश्वकै अग्लो पुलको उद्घाटनअघि तनाव परीक्षण सम्पन्न



काठमाडौं | चाइना डेली — चीनको गुइझोउ प्रान्तमा निर्माण गरिएको विश्वकै अग्लो पुलले उद्घाटनअघि अन्तिम तनाव (स्ट्रेस) परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ।

बिपान नदीमाथि ६२५ मिटर उचाइमा बनेको हुआजियाङ ग्रान्ड क्यान्यन पुलले भदौ ५ देखि ९ (अगस्ट २१–२५) सम्म गरिएको स्थिर लोड परीक्षणमा उत्तीर्ण भएको हो। परीक्षणका क्रममा कुल ३,३६० मेट्रिकटन तौल भएका ९६ वटा ट्रक पुलमा राखेर यसको भारवहन क्षमता जाँचिएको चाइना डेलीले जनाएको छ। पुलमा जडान गरिएका ४०० भन्दा बढी सेन्सरमार्फत टावर, मुख्य फैलावट, केबल र सस्पेन्डरमा हुने सानोभन्दा सानो कम्पन र हलचलको निगरानी गरिएको थियो।

२,९०० मिटर लामो र १,४२० मिटर मुख्य फैलावट भएको यो पुल विश्वकै अग्लो र पहाडी क्षेत्रमा सबैभन्दा लामो फैलावट भएको संरचना बन्नेछ। गुइझोउ ट्रान्सपोर्टेसन इन्भेस्टमेन्ट ग्रुपका परियोजना प्रमुख वु झाओमिङका अनुसार निर्माणमा कंक्रिट खन्याउँदाको तापक्रम नियन्त्रण, चट्टान ढलानको स्थायित्व र तीव्र हावाको असर कम गर्ने जस्ता चुनौतीका बीच पनि काम निर्धारित समयभन्दा अगावै सम्पन्न गरिएको हो।

सेप्टेम्बरमा सञ्चालनमा आउने पुलले लिउझी र अनलोङबीचको यात्रा समय दुई घण्टाबाट घटाएर दुई मिनेटमा ल्याउनेछ। यसले स्थानीय पर्यटन र विकासलाई उल्लेखनीय बढावा दिने अपेक्षा गरिएको छ। हाल विश्वका शीर्ष १० अग्ला पुलमध्ये आठवटा गुइझोउमै रहेका छन्, जसले पुल निर्माणमा चीनको प्राविधिक प्रभुत्वलाई देखाउँछ।

स्रोत: चाइना डेली

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ९ : ५९ बजे