Logo

मुख्य समाचार

काठमाडौंमा दिनभर वर्षा हुने सम्भावना



काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार गएरातिदेखि नै काठमाडौंमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बूढानीलकण्ठलगायत केही स्थानमा भारी वर्षा भएको छ।

मौसमविद् सरोज पुडासैनीका अनुसार दिनभर पानी पर्ने र केही समय रोकिने क्रम चलिरहनेछ। “काठमाडौंमा अझै केही समय वर्षा हुनेछ, केही घण्टापछि केही समय रोकिने र फेरि वर्षा हुने क्रम जारी रहन्छ,” उनले बताए।

उनका अनुसार राति पनि उपत्यकाका अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ। भोलि पनि आजकै जस्तै मौसम रहने अनुमान गरिएको छ।

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ प्रवेश गरिरहेकाले वर्षा भइरहेको विभागले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले वर्षाको प्रभाव बढेको हो।

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने र केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना विभागले जनाएको छ।

लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा समेत भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ८ : ३३ बजे