काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार (भदौ १४) पाँचदिने चीन भ्रमणमा जाँदै छन्। परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक निमन्त्रणामा ओली चीन प्रस्थान गर्न लागेका हुन्।
भ्रमणका क्रममा ओलीले भदौ १६ गते तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने र विभिन्न मुलुकका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोही अवसरमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्ने तय भएको छ।
भदौ १७ गते ओलीले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन्। भदौ १८ गते उनले बेइजिङमा आयोजना हुने जापानी आक्रामकताविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध तथा विश्व फासिस्ट विरोधी युद्ध विजयको ८०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागिता जनाउने छन्।
ओलीसँगै उनकी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा र उच्च सरकारी अधिकारीहरू सहभागी हुनेछन्।
प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम छ।
प्रतिक्रिया