Logo

समाचार

पशुपति दर्शनमा पुगेकाहरुले भने : ‘व्यवस्थापन राम्रो छ, विकास कोषलाई धन्यवाद’



काठमाडौं । हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा आज(मंगलबार)बिहानैदेखि पशुपति मन्दिरमा दर्शन गर्नेहरुको भीड लागेको छ ।

रातो पहिरनमा सजिएर मन्दिर पुगेका महिलाहरु कतै नाचगानमा व्यस्त छन् भने कतै भगवान शिवको दर्शनका लागि लाइनमा बसेका छन् । विहानैदेखि मन्दिर परिसरमा भीड थेगिनसक्नु छ ।

दर्शन गर्नका लागि सहज बनाउन पशुपति क्षेत्र विकास कोषले सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरेको छ भने पाशुपत क्षेत्रकै वातावरण नाचगान र भजनसँगै भक्तिमय बनेको छ ।

काठमाडौं महानगरपालिका वडा नंम्बर १० को स्वयमसेविका गोमा बरालले यस वर्ष लाइन व्यवस्थापन एकमद राम्रो भएको सुनाउँछिन् । उनले कृत्रिम वाटर ड्रपलेटले शितल बनाउँदा ब्रतालुहरु ढल्ने, वेहोस हुने जस्ता समस्या नभएको पनि बताइन् ।

उनले भनिन्, ‘धेरै महिलाहरु दर्शनको लागि आउनु भएको छ । दर्शन गर्न सजिलै भएको छ । लाइन धेरैवेर बस्न परेको छैन । यसवर्ष ढल्ने, वेहोस हुने केही समस्या आएको छैन् । गत सालको भन्दापनि यो साल अझ व्यवस्थित छ । ब्रत बसेर दर्शन गर्न आएकाहरुले सजिलै दर्शन गर्न पाएका छन् । कृत्रिम वाटर ड्रपलेटले अझ सजिलो भएको छ, शितल बनाएको छ ।’

बरालका अनुसार देवी पार्वतीले अघिल्लो दिन दर खाएर आजको दिन शिव पति पाउ भनी निराहार वर्त बसेको कुरालाई अहिलेसम्म निरन्तरता दिइएको हो । बरालले श्रीमान नहुनेले छोरानाती र श्रीमान हुनेले श्रीमानको दिर्घायूको लागि ब्रतबस्ने गरेको बताइन् । आफ्नो इच्छा अनुसार ब्रत बस्ने गरेको उनले सुनाइन् ।

‘जसको श्रीमान छैनन् उहाँहरुले छोराहरुको लागि, नातीहरुका लागि, श्रीमान हुनेले श्रीमानको दिर्घायुको लागि, जसको विवाह भएको छैन उनीहरुले असल पति पाउ भन्नको लागि ब्रत बस्नुभएको छ । अरु आफ्नो इच्छा पनि होला’ उनले भनिन् ।

आजभोली खाने दरका कारण महिला नै बदनाम हुने र त्यस्तो प्रवृतिलाई न्यूनिकरण गर्नुपर्ने उनले बताइन् ।

उनले भनिन्, ‘हुनेले खाने हो । एकमहिनादेखि नहुनेले के खाने ? हिजो हाम्रा आमाहरुले तीन दिनको लागि पुग्नेगरी घाँस, दाउरा पुर्याएर दर खानुहुन्थ्यो र व्रतबसी नजिकैको मन्दिरमा दर्शन गर्नुहुन्थ्यो । हिजोआज विकृति फैलिएको छ । यसलाई न्यूनीकरण गर्नुपर्छ । छाडा प्रथा बढ्यो । जथाभावी खाएर हिड्दा महिलाहरुको बदनाम हुन्छ ।’

यस्तै धनगढीकी प्रिती आचार्यलाई पनि यस पटकको पशुपति मन्दिरको माहोलले धनगढीलाई बिर्सिएकी छन् । पोहोर सालको गर्मी सम्झिदै प्रितीले यस वर्ष कृत्रिम वाटर ड्रपलेटले तापक्रम कम गर्दा झनै रमाइलो भएको बताइन् ।

‘धनगढीमा पनि एकदमै रमाइलो हुन्थ्यो । तर यहाँपनि रमाइलो भइरहेको छ । कृत्रिम वाटर ड्रपलेटले तापक्रम कम गरेको छ । पोहोरसाल पनि म आएको थिए । त्यसवेला एकदमै गर्मी थियो । नयाँ व्यवस्थाले छिन छिनमा मुखमा पानी आएको जस्तो भइरहेको छ,’ उनले भनिन् ।

बालाजुबाट पशुपति आएकी अन्शु नाम बताउने युवतीले लाइन छिटो छिटो सर्दा दर्शन गर्न सहज भएको प्रतिक्रिया दिइन् । ट्राफिकको सहयोगले वातावरण सहज बनेको उनको धारणा छ ।

उनले भनिन, ‘पहिलाको भन्दा छिटो छिटो लाइन अगाडि बढेको छ । पहिला लाइन सर्दैनथ्यो अहिले ट्राफिक प्रहरीले पनि धेरै सहयोग गरेको भएर होला छिटो छिटो लाइन सरेको छ ।’

पहिलेको तीजलाई सम्झिदै आजको तीजमा धेरै भिन्नता आएको काठमाडौंको डिल्लीबजार घर भएकी रेनु उपाध्याय सुनाउँछिन् । बुढेसकाल लागेकाले पशुपति दर्शन गर्न गार्हो होला भन्ने थियो तर यसपाली सहज भएको सुनाइन् ।

‘डर लागेको थियो तर यसपाली सजिलै भयो । पहिले र अहिलेको तीजमा फरक छ । पहिले पहिले निराहार बसिन्थ्यो, केही खाने थिएनन्, अहिले नाचगान धेरै बढी छ ।’

उनले अहिले दर खाने भनेर विहे खाएको जस्तो गर्ने भन्दै भड्किलो तीज भएको बताइन् ।

उनले भनिन्, ‘दर खाने भनेर पार्टीमा गएर विहे खाएको जस्तो गर्छन । पहिले आफ्ना छोरी–चेलीवेटी, भान्जा–भान्जी सबै मिलेर राती ९÷१० बजे खान्थेँ । अहिले धेरै फरक छ । पार्टी गरेर दर खाने अली बढि भड्किलो भयो । सबै जम्मा भएर आफ्नै घरमा खाने राम्रो हो ।’ पशुपति विकास कोषले राम्रो व्यवस्था गरेको भन्दै कोषलाई धेरै धन्यवाद समेत दिएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ७ : ५७ बजे