काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आन्दोलनरत उखु किसानको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।
मंगलबार माइतीघरमा उखु किसानहरुको आन्दोलनमा सहभागि हुँदै उनीहरुले आन्दोलनरत किसानको मागप्रति ऐक्यबद्धता जनाएका हुन् ।
सोही क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उखु किसानहरुका जायज मागहरुको सन्दर्भमा ऐक्यबद्धता जनाउन आएको भन्दै सिंगो देशको कृषि क्षेत्रलाई अगाडि बढाउने हो भने यो क्षेत्रमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘उखु किसानहरुका जायज मागहरुको सन्दर्भमा ऐक्यबद्धता जनाउन यहाँ आएका छौ । आन्दोलनरत सबै उखु किसानहरुले जुन माग अगाडि सार्नु भएको छ त्यो मागलाई विगतमा पनि हामीले जायज नै ठानेका थियौं । समस्या उखु किसानको मात्रै होइन्, सिंगो देशको कृषि क्षेत्रलाई अगाडि बढाउने हो भने यो क्षेत्रमा राज्यले विशेष ध्यान दिनुपर्छ ।’
साथै, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले पनि झण्डै दुइ तिहाई जनसंख्या किसानहरुले बगाएको पसिनामा आधारित भएपनि किसानहरु अपहेलित भएको भन्दै क्रान्ति, परिवर्तन, लोकतन्त्रको नाममा ठूलो ठगी भइरहेको बताए ।
उनले भने, ‘झण्डै दुई तिहाई जनसंख्या किसानहरुले बगाएको पसिनामा आधारित भएर चलेको छ र सरकार चलाउने मान्छेहरु, राजनीतिक दलका नेताहरु पनि त्यो किसानले पसिना बगाएर उत्पादन गरेको वस्तु खान्छौ । खाने कुरा कुनै मेसिनले होइन किसानले नै उत्पादन गर्छ । समाज र राज्यको केन्द्रमा को हुनुपर्छ भन्दा किसान हुनुपर्छ । तर सबैभन्दा अपहेलित नै किसान भएको छ । मान सम्मान नपाउने किसान, उत्पादन गरेको वस्तुको मूल्य नपाउने किसान अनि यो न्याय भयो ? यही हो क्रान्ति, परिवर्तन, लोकतन्त्र होइन, ठूलो ठगी भइरहेको छ ।’
यस्तै, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसान यसरी सडकमा आउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकोप्रति दुःख व्यक्त गर्दै उनीहरुको जायज मागलाई छिटोभन्दा छिटो पूरा गर्न सरकारसँग माग गरेका छन् ।
उनले भने, ‘उखु किसान यसरी सडकमा आउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो, त्यसप्रति दुःख व्यक्त गर्न चाहन्छु । उहाँहरुको माग जुन जायज छ, त्यो मागलाई छिटोभन्दा छिटो पूरा गर्न सरकारसँग माग गर्न चाहन्छु ।’
उखु किसान महासंघ संघर्ष समितिको आह्वानमा आइतबारदेखि भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गरेका छन् ।
यस्तै, चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटमा अनुदानका लागि बजेट विनियोजन नगरेको विषय पनि उनीहरूले उठाएका छन् ।
उनीहरूले आर्थिक वर्ष २०८१÷८२ मा बिक्री गरेको उखुको एक अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने, आगामी वर्षमा उखुको अनुदानलाई निरन्तरता दिनुपर्ने र मूल्य निर्धारण आपसी छलफल गरेर मात्र गर्नुपर्ने माग पनि गरेका छन् ।
प्रतिक्रिया