काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशसभाअन्तर्गत मनाङ १ (ख) मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ। सर्वोच्च अदालतले प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) लाई पदमुक्त गर्ने निर्णयको पूर्णपाठ सार्वजनिक भएपछि आयोगले मिति तोक्ने प्रक्रिया अघि बढाएको हो।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार अदालतको फैसलाको पूर्णपाठ आइसकेकाले कार्तिक १७ गते नै उपनिर्वाचन गर्ने तयारी गरिएको छ। प्रतिनिधिसभाअन्तर्गत रुपन्देही क्षेत्र नम्बर–३ को रिक्त पदमा पनि सोही दिन उपनिर्वाचन हुने भएकाले मनाङमा समेत त्यही मितिमा निर्वाचन हुने सम्भावना रहेको उनले बताए।
उनका अनुसार प्रदेशसभाको हकमा तालिका छोट्याएर सोही दिन उपनिर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गत असार ४ गते गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै प्रदेशसभा सदस्य पदका लागि अयोग्य घोषणा गरेको थियो।
प्रतिक्रिया