काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले बिगो बुझाएर थुनामुक्त हुन माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन्।
रुपन्देही जिल्ला अदालतले सहकारी ठगीको मुद्दामा उनलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको भए पनि, उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार उनी पुर्पक्षका लागि थुनामा छन्। सर्वोच्च अदालतले जेठ ९ मा उच्च अदालतको आदेश सदर गरेको थियो।
लामिछानेले आफ्नो भागको बिगो २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटीको रूपमा बैंक ग्यारेन्टीसहित बुझाउने प्रस्तावसहित निवेदन दिएका थिए। तर जिल्ला अदालतले सर्वोच्चको आदेश भइसकेको कारण र नयाँ तथ्य–प्रमाण पेश नभएको आधारमा निवेदन अस्वीकार गरेको थियो।
जिल्ला अदालतले दिएको आदेशविरुद्ध लामिछानेले पुनः उच्च अदालतमा निवेदन दिएका छन्। उच्च अदालतले बुधबार सुनुवाइ गर्ने तय गरेको छ।
रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले निवेदनमाथि आगामी बुधबार सुनुवाइ हुने जानकारी दिएका छन्।
प्रतिक्रिया