Logo

मुख्य समाचार

भियतनामकी उपराष्ट्रपति सुआनको आज उच्चस्तरीय भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग उच्चस्तरीय भेटवार्ता गर्ने भएकी छन्।

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल–भियतनामबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुनेछ। यस क्रममा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट सीधा उडान गर्ने प्रस्तावबारे पनि विस्तृत विचारविमर्श हुने बताइएको छ।

सुआन नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सव समारोहमा सहभागी हुन आइतबार नेपाल आएकी हुन्। यो भियतनामबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो। नेपाल आगमनका दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन्।

सुआन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तथा पाटन दरबार स्क्वायर र स्वयंभूनाथ स्तूपलगायत स्थान अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी स्वदेश फर्किनेछिन्।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १० : १९ बजे