काठमाडौं । थाइल्यान्डको एक अदालतले शुक्रबार पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्राविरुद्धको शाही अपमान (लेस–म्याजेस्ते) र राजद्रोहसम्बन्धी मुद्दा खारेज गरेको बीबीसीले जनाएको छ।
सन् २०१५ मा निर्वासनमा रहँदा उनले दक्षिण कोरियाली पत्रिकालाई दिएको अन्तर्वार्तामा थाइल्यान्डको शीर्ष शाही सल्लाहकार संस्था प्रिभी काउन्सिलले २०१४ को सैन्य कूलाई समर्थन गरेको आरोप लगाएका थिए। सो कूका कारण तत्कालीन प्रधानमन्त्री र थाकसिनकी बहिनी यिङलक शिनावात्राको सरकार ढलेको थियो।
उनी दोषी ठहरिएको भए १५ वर्षसम्मको जेल सजाय हुनसक्ने थियो। अदालतको निर्णयपछि थाकसिनका वकिल विन्यात चार्मोन्ट्रीले आफ्नो मुवक्किलले वकिल टोलीलाई धन्यवाद दिएको र अब देशको हितमा काम गर्ने बताएका छन्।
थाकसिनमाथि यो मुद्दा सन् २०१६ मा तत्कालीन सैन्य सरकारले निर्वासनमै रहेका बेला दायर गरेको थियो। गत वर्ष उनी थाइल्यान्ड फर्किएपछि मुद्दा सक्रिय रूपमा अघि बढाइएको थियो।
फैसला आएको बेला थाकसिनकी छोरी तथा निलम्बित प्रधानमन्त्री पैतोंगतार्न शिनावात्रा पनि अदालती प्रक्रियामा छन्। उनको मुद्दामा पदबाट हटाइने सम्भावना रहेको छ।
थाकसिन शिनावात्रा परिवारले दशकौँदेखि थाइल्यान्डको राजनीतिमा प्रभाव जमाउँदै आएको छ। अदालतको यस निर्णयलाई उनको परिवार र समर्थकका लागि राहतको रूपमा हेरिएको छ।
प्रतिक्रिया