Logo

शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी नन–ग्रेडेड (अउत्तीर्ण) भएका छन्।

बोर्डको सोमबार साँझ बसेको बैठकले नतिजा अनुमोदन गरेपछि सार्वजनिक गरिएको हो। कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २१ गतेदेखि सञ्चालन भएको थियो। परीक्षा देशभरका पाँच लाख १० हजार ९८७ विद्यार्थीले दिएका थिए।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार गत वर्षको तुलनामा यस वर्षको नतिजा ९ प्रतिशतले सुधार भएको छ। गत वर्ष नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी ग्रेडेड र ४७.०९ प्रतिशत नन–ग्रेडेड भएका थिए।

जीपीएको आधारमा विद्यार्थीको विवरण

सार्वजनिक नतिजाअनुसार, जीपीए २.८१ देखि ३.२० ल्याउने विद्यार्थीको संख्या सबैभन्दा बढी ९४ हजार २६८ रहेको छ।
अन्य विवरण यस प्रकार छ:

  • ३.६१–४.०० जीपीए : १३,५९१ विद्यार्थी
  • ३.२१–३.६० जीपीए : ५५,८९६ विद्यार्थी
  • २.८१–३.२० जीपीए : ९४,२६८ विद्यार्थी
  • २.४१–२.८० जीपीए : ६९,८१२ विद्यार्थी
  • २.०१–२.४० जीपीए : ८,९६४ विद्यार्थी
  • १.६१–२.०० जीपीए : २३ विद्यार्थी

ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ मा

बोर्डले ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने जानकारी दिएको छ। पूरक परीक्षा सम्बन्धी विस्तृत विवरण बोर्डको वेबसाइट www.neb.gov.np मा प्रकाशित गरिनेछ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : ०२ बजे