Logo

विश्व

वायुसेना विमान विद्यालयमा खस्दा बंगलादेशमा १६ जनाको मृत्यु, ७० भन्दा बढी घाइते



ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकास्थित डियाबारीमा रहेको माइलस्टोन कलेजको भवनमा बंगलादेश वायु सेनाको एक प्रशिक्षण विमान खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्।

दुर्घटना सोमबार बिहान कक्षा सञ्चालन भइरहेकै समयमा भएको हो। चीनमा निर्मित एफ–७ जेट विमान एकाएक नियन्त्रण गुमाएर विद्यालय भवनको अगाडिको भागमा ठोक्किएको बंगलादेशी अधिकारीहरूले पुष्टि गरेका छन्।

दुर्घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार विमान ठोक्किएपछि भवनमा कालो धुँवा फैलिएको थियो र केही विद्यार्थी रगताम्य अवस्थामा आत्तिएर भागिरहेको दृश्य देखिएको थियो।

एक शिक्षकका अनुसार विमान तीनतले विद्यालय भवनको अगाडिल्लो भागमा ठोक्किएको थियो, जसले गर्दा थुप्रै विद्यार्थी भवनभित्र थुनिएका थिए। दर्जनौँ विद्यार्थी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ।

टेलिभिजन फुटेजमा उद्धारकर्मी आउनु अघि नै सेनाका जवानहरूले घाइते विद्यार्थीहरूलाई काँधमा बोकेर रिक्सा र अन्य सवारी साधनमार्फत अस्पताल पुर्‍याएको देखिन्छ।

विमान खस्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन। पाइलटले आपत्कालीन ‘इजेक्ट’ गरेको पुष्टि वायु सेनाले नगरेको बताइएको छ।

घाइतेहरूको राजधानीस्थित छुट्टाछुट्टै छवटा अस्पतालमा उपचार भइरहेको छ।

बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले घटनाको उच्चस्तरीय अनुसन्धान हुने र पीडितहरूलाई आवश्यक सहयोग प्रदान गरिने बताएका छन्।

घटनाबारे थप विवरणहरू वायु सेनाले छानबिनपछि सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : २६ बजे