Logo

समाचार

शेखर कोइरालाको कडा आपत्ति : “कुलिङ पिरियड” हटाउने एमालेको प्रस्ताव आपत्तिजनक



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय निजामती सेवा विधेयकमा नेकपा (एमाले)ले राष्ट्रिय सभामा दर्ता गराएको संशोधन प्रस्तावलाई आपत्तिजनक बताएका छन्।
एमाले सांसदहरूले निजामती सेवामा “कुलिङ पिरियड” हटाउने संशोधन दर्ता गराएपछि कोइरालाले सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै उक्त कदम गठबन्धन, जनता र लोकतन्त्रको विश्वासघात भएको टिप्पणी गरेका हुन्।
“गठबन्धन दलहरूबीच भएको सहमति र समितिमा भएको सर्वसम्मतिविपरीत आफ्ना सांसदहरूलाई संशोधन दर्ता गराउनु एमालेको दोहोरो चरित्र हो,” कोइरालाले लेखेका छन्, “यसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई धोका दिएको छ।”
उनले नेपाली कांग्रेसले यस विषयमा एमालेसँग आधिकारिक धारणा माग गर्नुपर्ने धारणा समेत राखेका छन्। साथै उनले सबै पक्ष मिलेर संशोधन पारित हुन नदिने चेतावनी पनि दिएका छन्।
“कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ। कोही दुविधामा नपरे हुन्छ,” कोइरालाले स्पष्ट पारेका छन्।
यसअघि, नेकपा एमालेले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको प्रावधान हटाउने गरी राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गराएको थियो। कांग्रेस लगायत गठबन्धनका अन्य दलहरू भने उक्त प्रावधान यथावत राख्नुपर्ने पक्षमा छन्।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ५० बजे