काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको बैठकले रसुवागढीमा गएको भीषण बाढीका पीडितप्रति श्रद्धाञ्जली प्रकट गर्दै पुनःनिर्माण र राहत कार्यमा जोड दिनका लागि महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
असार २४ गते रसुवागढीमा आएको आकस्मिक बाढीबाट मानवीय तथा भौतिक क्षति भएको भन्दै बैठकले मृतकप्रति श्रद्धाञ्जली, पीडित परिवारप्रति समवेदना तथा हराएका व्यक्तिको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिएको कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले बताए ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय परिषद्को १८ औं बैठकले नेपाल–चीन जोड्ने मितेरी पुल पुनःनिर्माण तथा अवरुद्ध सडक सुचारु गर्न चीन सरकारसँग समन्वय गर्न आग्रह गरेको छ । साथै, बैठकले वैकल्पिक नाका तथा राजमार्गहरूलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।
बाढीले क्षति पुर्याएका भन्सार, जलविद्युत आयोजना तथा अन्य पूर्वाधारहरूको शीघ्र मर्मत गरी सेवा पुनः सञ्चालन गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ । व्यवसायीहरूलाई परेको क्षतिको आँकलन अर्थ मन्त्रालयले गर्नेछ ।
यस्तै, मृतक तथा बेपत्ताका परिवारलाई प्रचलित कानुनअनुसार राहत उपलब्ध गराउने तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न समेत बैठकले निर्देशन दिएको छ ।
प्रतिक्रिया