Logo

शिक्षा

त्रिवि उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को रिक्त उपकुलपति पदका लागि गठित छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठन गरिएको समितिले आइतबार साँझ बसेको बैठकमा १२ आवेदकमध्येबाट तीन जनाको नाम चयन गरेको हो।

सिफारिसमा परेका व्यक्तिहरूमा प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. खड्ग केसी र प्रा.डा. विनिल अर्याल रहेका छन्। समितिले सिफारिस गरिएको नाम विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी गरेको छ।

गत वर्ष जस्तै यसपटक खुला आवेदन आह्वान नगरिई त्रिवि ऐनअनुसार शिक्षा मन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरी छनौट प्रक्रिया अघि बढाइएको हो।

निवर्तमान उपकुलपति प्रा.डा. केशरजंग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेको छ। बरालको राजीनामा चैत २८ गते स्वीकृत भएपछी वैशाख २ गते शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो।

बरालले चार वर्षको कार्यकाल पूरा नगरी १३ महिनामै राजीनामा दिएका थिए। उनको कार्यकाल अवधिमा विश्वविद्यालयमा आंशिक तथा करार शिक्षकहरूका आन्दोलनले तालाबन्दी र कार्यकक्ष घेराउजस्ता घटनाहरू दोहोरिएका थिए।

प्रधानमन्त्री ओलीले जेठ ६ गते सहकुलपति तथा शिक्षामन्त्रीको संयोजकत्वमा समिति गठन गरेका थिए। समितिले प्रारम्भिक चरणमा पाँच जनाको नाममा छलफल गरी अन्ततः तीन जनाको नाम सिफारिस गरेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ३ : ४५ बजे