काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा सत्तासीन दलहरूसँग निकट सम्बन्ध राख्ने स्वार्थ समूहको प्रभाव देखिएको आरोप लगाएका छन्।
शनिबार भक्तपुरमा आयोजित नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले स्पन्ज आइरन र तार जाली उद्योगमा सरकारले कर नीतिमा हस्तक्षेप गरेको बताए।
उनका अनुसार स्पन्ज आइरनमा कर दर १ प्रतिशतमा झारिएको छ भने अन्य समरूप उद्योगमा ५ प्रतिशत कर तोकिएको छ। पुनले यस्तो नीति आर्थिक चलखेलका आधारमा ल्याइएको भन्दै यसले अर्बौंको लगानी जोखिममा पार्ने र हजारौं रोजगारी गुम्ने खतरा रहेको बताए।
“यसरी पक्षपातपूर्ण कर नीति लागू गरेर उद्योग संचालन सम्भव हुँदैन। बिचौलियाका स्वार्थमा राज्यको नीति बन्न थालेको छ,” उनले भने।
पुनले बजेट निर्माणदेखि कानुन निर्माण र ठेक्का प्रणालीसम्म बिचौलियाकरण भएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले समाजवादको आधार निर्माण हुन नसक्ने धारणा राखे। “राष्ट्रिय पुँजी निर्माण र प्रतिस्पर्धी वातावरण बनाउन नसकेसम्म समाजवाद सम्भव छैन,” उनले स्पष्ट पारे।
उनले दलाल पुँजीपतिको प्रभाव हटाउने प्रयास गर्दा आफ्नै अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालिएको दाबी पनि गरे। पुनको भनाइमा, “दलाल पुँजीविरुद्ध उभिँदा कांग्रेस–एमाले मिलाएर हाम्रो सरकार हटाइयो।”
पूर्वअर्थमन्त्री रहेका पुनले कृषि, जलविद्युत, सूचना प्रविधि र उत्पादनमूलक उद्योगमा लगानी प्रवर्द्धन गरेमा मात्र दीगो राष्ट्रिय पुँजी निर्माण सम्भव हुने बताए।
प्रशिक्षण कार्यक्रममा उनले भारत र चीनजस्ता छिमेकी अर्थतन्त्रहरूको विकासबाट नेपालले प्रत्यक्ष लाभ लिनुपर्नेमा पनि जोड दिए। परम्परागत एकतर्फी कूटनीतिक झुकाव परित्याग गरी उत्तर–दक्षिण समदूरीको सम्बन्ध विकास गर्नुपर्ने उल्लेख गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारको पालामा सुरु गरिएको उत्तर–दक्षिण करिडोर अवधारणाको स्मरण गरे।
प्रतिक्रिया