Logo

मुख्य समाचार

चितवनमा रवि लामिछानेको समर्थनमा हस्ताक्षर अभियान, पत्नी निकिताको अन्यायविरुद्धको आह्वान



चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चरम अन्याय भएको भन्दै उनकी पत्नी निकिता पौडेलले चितवनवासीलाई त्यसविरुद्ध आवाज उठाउन आह्वान गरेकी छिन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक अपील गर्दै पौडेलले लामिछानेको पक्षमा चितवनमा हस्ताक्षर अभियान सुरु हुने जानकारी दिइन्। उनले लामिछानेमाथि अन्याय भएको दाबी गर्दै न्यायको मागमा नागरिक सहभागिता आवश्यक रहेको उल्लेख गरिन्।

“चितवनमा देवता र देवताजस्ता मान्छे बस्छन् भन्ने मेरो श्रीमान् भन्नुहुन्छ। अब उहाँमाथि भएको अन्यायविरुद्ध चितवनवासीको समर्थन जरुरी छ,” उनले फेसबुकमा लेखेकी छिन्। “कुनै समय थियो, जब देश–विदेशबाट रविलाई सम्झिनुहुन्थ्यो। आज उहाँ आफैं अन्यायमा परेका छन्। अब आवाज उठाउने पालो तपाईंहरूको हो।”

निकिताले शनिबारदेखि चितवनमा शुरु हुने हस्ताक्षर अभियानमा आफू पनि सहभागी हुने बताएकी छिन्। यद्यपि, उनले रवि लामिछानेमाथि के कस्तो अन्याय भएको भन्ने विवरण भने खुलाएकी छैनन्।

रास्वपा र रवि लामिछानेसँग सम्बन्धित पछिल्ला राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा उक्त अपील आएको हो।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ७ : ०१ बजे