Logo

मुख्य समाचार

पूर्व डीआईजी मल्लको माग : “प्रहरी सेवाको ३० वर्षे सेवा अवधि हटाइनुपर्छ”



काठमाडौं । नेपाल प्रहरीका पूर्व उपरीक्षक (डीआईजी) हेमन्त मल्लले प्रहरी सेवामा लागू ३० वर्षे सेवा अवधिको व्यवस्था तत्काल हटाइनुपर्ने माग गरेका छन्।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको संवादमा मल्लले वर्तमान व्यवस्था प्रहरीको करिअर विकासका लागि बाधक भएको बताए। “३० वर्षे अवधि हटाउनु पर्छ, त्यसका धेरै असरहरू छन्,” उनले भने, “प्रहरीको करिअर डेभलपमेन्ट त्यसैले विग्रिएको छ। सरुवा, बढुवा लगायतका विषयमा पनि व्यापक सुधार आवश्यक छ।”

पूर्व डीआईजी मल्लका अनुसार प्रहरी प्रशासनमा सुधारका लागि सरोकारवाला निकाय र संसद्को राज्य व्यवस्था समितिसँग समेत छलफल भएको छ। “राज्य व्यवस्था समितिले मलाई छलफलमा बोलाएको थियो,” उनले बताए, “मैले त्यहाँ पनि ३० वर्षे अवधि हटाउनुपर्ने विषय राखेको थिएँ।”

उनले प्रहरी ऐनलाई व्यापक पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याउँदै जनतामुखी प्रहरी सेवा निर्माणको माग गरे। “हामी जनताले चाहेको पुलिस बनाउने हो कि नेताले चाहेको? यो मुख्य सवाल हो,” मल्लले भने।

मल्लले ऐन निर्माणको प्रक्रिया पनि नेताको लहडमा आधारित भएको आरोप लगाए। “यहाँ दुई–तीन जना नेताको इच्छाले ऐन बन्ने गरेको छ,” उनले भने, “संसद् र संसदीय समितिले ऐन बनाउँछ भन्ने मान्यता पनि गलत सावित भइसकेको छ।”

पूर्व डीआईजी मल्लको अभिव्यक्ति प्रहरी सेवामा सुधारको माग र राजनीतिक हस्तक्षेप विरुद्धको चासोका रूपमा आएको हो।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : ४३ बजे