Logo

मुख्य समाचार

भीम रावलको प्रतिवाद : “केपी ओलीसँग निहुँ खोजेर मेरो राजनीतिक भविष्य सिद्दिएको होइन”



काठमाडौं — पूर्व उपप्रधानमन्त्री तथा मातृभूमि जागरण अभियान नेपालका संयोजक डा. भीम बहादुर रावलले आफूले केपी शर्मा ओलीसँग निहुँ खोजेर राजनीति सिद्द्याएको भन्ने आरोप अस्वीकार गरेका छन्।
प्राइम टिभीको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलाको प्रश्नको उत्तर दिँदै रावलले आफू ओलीसँग मिलेर उपप्रधान तथा गृहमन्त्री नभएको स्पष्ट गरे। उनले देश, जनता र बहुदलीय जनवादको पक्षमा आफू उभिएको तर ओली त्यसको विपरीत दिशामा गएका कारण विचारगत संघर्ष भएको बताए।
रावलले एमाले पार्टी नछोडेको दाबी गर्दै भने, “म एमालेबाट भागेर गएको होइन। मलाई ओलीले कांग्रेस र महन्थजीहरूसँग मिलेर प्रधानमन्त्री बनेर, शक्तिको आडमा ‘तँ सदस्य भइनस्’ भने, म छोडेर गएको होइन।” उनले ओली र माधव नेपाललाई मिलाउने प्रयासमा आफू सक्रिय रहेको पनि उल्लेख गरे।

रावलले प्रधानमन्त्री ओलीमाथि स्वेच्छाचारी व्यवहार र कम्युनिस्ट एकता गर्न असफल भएको आरोप समेत लगाए। उनले २०७४ सालमा माओवादीसँग गरिएको एकता सत्ताका लागि मात्र भएको र त्यसको गोप्य सहमति डेढ वर्षपछि बाहिर आएको दाबी गरे।

उनका अनुसार ओलीले माओवादीसँग निस्वार्थ ढंगले एकता नगरेका कारण पार्टीभित्रको संकट चुलिएको हो।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ११ : ४८ बजे