Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलमा छुट सुविधा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डधारी र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले अब आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा सेवा लिँदा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन्।

बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोर्ट प्रा.लि.बीच छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार, ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक र ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले आइएमई हस्पिटालिटीअन्तर्गत सञ्चालित होटल तथा रिसोर्टमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन्।

आइएमई समूहले देशका विभिन्न स्थानमा सञ्चालन गरेका होटल तथा रिसोर्टहरु— काठमाडौंको ‘ले हिमालय लाजिम्पाट’ र ‘साके एण्ड फेङ्ग रेस्टुरेन्ट’, बागलुङको ‘इला कम्र्फोट’, गैडाकोटको ‘इला होटल एण्ड रिसोर्ट मौलाकाली’ तथा पोखराको ‘लेकसाइट रिट्रीट’— आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकबीच लोकप्रिय छन्।

ग्राहक सुविधालाई प्राथमिकता दिँदै ग्लोबल आइएमई बैंकले समयसापेक्ष योजना ल्याउँदै आएको छ। हालै बैंकले ‘ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको मान्यता पाएको छ।

सातै प्रदेशका ७७ जिल्लामा सेवा सञ्जाल विस्तार गरेको बैंकले हाल ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ।

यसका साथै, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत देशबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराइरहेको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : ५० बजे