काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले तल्लो तहका नागरिकको जीवनस्तर उकास्न उदारवादी र पुँजीवादी व्यवस्थाको पक्षपोषण गरिरहेको बताएका छन्।
नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्रीय विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले समुन्नत नेपालको लक्ष्य हासिल गर्न पुँजीवादी अर्थतन्त्रमा कांग्रेसको विश्वास रहेको स्पष्ट पारे। “हामी नाफालाई अपराध मान्दैनौँ, नागरिकलाई माथि उठाउने प्रणाली चाहन्छौं,” उनले भने।
थापाले बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टीको सञ्चालन प्रणालीबारे लेबर पार्टीका नेता डा. बच्चुकैलाश कैनीसँग भएको अन्तरक्रियामा नेपाली कांग्रेसले अनुकरण गर्दै आएको बेलायती संसदीय प्रणालीप्रति आफ्नो विश्वास दोहोर्याए।
उनले लेबर पार्टीसँग नेपाली कांग्रेसको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै बेलायतमा जस्तै नेपालमा पनि पुराना पार्टीहरू संकटको अवस्थामा रहेको बताए।
सन् १९९५ मा बेलायतको लेबर पार्टीले निजी सम्पत्ति र उदारवादी विषयमा लचिलो नीति लिएर तीन पटक निर्वाचन जितेको प्रसंग उल्लेख गर्दै थापाले कांग्रेसले पनि २०४८ सालपछि ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा पर्याप्त बजेट विनियोजन गर्दै उदारवादी नीति अवलम्बन गरेको बताए।
महामन्त्री थापाले राजनीतिक पहुँच बिना पनि नागरिकले पासपोर्ट र लाइसेन्सजस्ता सेवा पाउने प्रणालीको आवश्यकता औंल्याउँदै व्यवस्था सुधारको पक्षमा कांग्रेस दृढ रहेको स्पष्ट पारे।
प्रतिक्रिया