डोटी। डोटीको आदर्श गाउँपालिका–१ स्थित खिराधारा धौलामाटीमा बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।
सुप्र प्रदेश ०१००१ ज १३९५ नम्बरको जीप दिपायलबाट मौवातर्फ जाँदै गर्दा शुक्रबार दिउँसो करिब १:४० बजे अनियन्त्रित भई सडकबाट झन्डै २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
दुर्घटनामा सायल गाउँपालिका–४ की ४१ वर्षीया देवी विक, जीप चालक आदर्श गाउँपालिका–७ का २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ की ३५ वर्षीया काली कटुवालको ज्यान गएको प्रहरी निरीक्षक रामचन्द्र जोशीले पुष्टि गरेका छन्।
दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा साँझ ४:१२ बजे मृत्यु भएको हो। मृतक काली कटुवाल गर्भवती रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूमा १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल रहेका छन्।
प्रहरीका अनुसार चारजना गम्भीर घाइते छन् भने एकको अवस्था मध्यम छ। सबैको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया