Logo

समाचार

अफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय सर्वोच्च अदालतमा काजमा तानिए



काठमाडौं । अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनलाई सर्वोच्च अदालतमा काजमा तानिएको छ।

न्याय परिषद्को बुधबार बसेको बैठकले उनीहरूलाई काजमा तान्ने निर्णय गरेको न्याय परिषद् सचिवालय स्रोतले जानकारी दिएको छ। निर्णय अनुसार न्यायाधीश थारू र महर्जन दुवै जनालाई हाल अस्थायी इजलास वीरगन्जमा रहेका पदबाट हटाई सर्वोच्च अदालतमा पदस्थापन गरिएको हो।

रौतहट जिल्ला अदालतले पूर्वमन्त्री आलमलाई जिउदो मानिसलाई जलाएर हत्या गरेको अभियोगमा जन्मकैदको फैसला सुनाएको थियो। तर, उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट न्यायाधीशद्वय थारू र महर्जनले उनलाई सफाइ दिएका थिए।

सो फैसलापछि दुबै न्यायाधीश आलोचनाको घेरामा परेका थिए। न्यायाधीश थारू यसअघि ललिता निवास सम्बन्धी भ्रष्टाचार मुद्दाको फैसलामा संलग्न इजलासको नेतृत्व गरिसकेका छन्। न्यायाधीश महर्जन भने आलमको फैसलापछि अदालत परिसरमै मोसो दलेर दुर्व्यवहारको सिकार भएका थिए।

न्याय परिषद्को यो निर्णयलाई आलम प्रकरणसँग जोडेर हेरिएको छ। परिषद्ले यसबारे आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ५ : २५ बजे