Logo

मुख्य समाचार

बिजमाण्डु र नेपाल खबरविरुद्धको मुद्दामा बिहीबार फैसला हुने



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले अनलाइन सञ्चारमाध्यम बिजमाण्डुनेपाल खबर विरुद्ध दायर गरेको मानहानि सम्बन्धी मुद्दामा बिहीबार फैसला हुने भएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलासमा अन्तिम सुनुवाइ सम्पन्न भएको हो। न्यायाधीश पिताम्बर शर्माको इजलासले यसअघि अल्पकालीन अन्तरिम आदेशमार्फत समाचार हटाउन आदेश दिएको थियो। सो आदेशलाई निरन्तरता दिने वा खारेज गर्ने विषयमा अन्तिम निर्णय बिहीबार हुने बताइएको छ।

बुधबारको सुनुवाइमा निवेदक श्रेष्ठका कानुनी प्रतिनिधिहरूले प्रारम्भिक बहस गरेपछि प्रतिवादी बिजमाण्डुनेपाल खबर पक्षका वकिलहरूले जवाफ पेश गरेका थिए। बिजमाण्डुका लागि वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, नेपाल खबरका लागि अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका थिए। साथै, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, नेपाल बार अध्यक्ष डा. विजयप्रकाश मिश्र र महासचिव केदार कोइरालाले समेत प्रतिवादीको पक्षमा बहस गरेका थिए।

विवादित समाचार धितोपत्र बोर्डको कमिसन र चलखेलसम्बन्धी विषयमा आधारित थियो। श्रेष्ठले सो समाचारले आफ्नो व्यक्तिगत तथा संस्थाको छवि धूमिल बनाएको र अन्तर्राष्ट्रिय सम्बन्धमा असर परेको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेका थिए।

यसबीच, पत्रकार संगठनहरूले समाचार हटाउने आदेशको विरोध गरेका छन्। नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी, प्रतिष्ठान प्रदेश लगायतका संस्थाहरूले बुधवार अदालत परिसरमा उपस्थिति जनाउँदै मिडिया स्वतन्त्रताप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए।

अन्तिम सुनुवाइका लागि वादी र प्रतिवादी दुवै पक्षले लिखित जवाफ बुझाइसकेका छन्। अदालतले अब बिहीबार फैसलाको तयारी गरेको छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ६ : ११ बजे