महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई मंगलबार नगरपालिकाको कार्यालय प्रवेशमा अवरोध गरिएको छ। नगरप्रमुख डा. दीपेन्द्र महतोको निर्देशनमा नगर प्रहरीले कार्यालयको मुख्य गेटमा ताला लगाएर उनलाई प्रवेश गर्न नदिएको हो।
उपप्रमुख महतो मंगलबार बिहान नियमित कामको लागि कार्यालय पुग्दा मुख्य गेटमै रोकिनुपरेको थियो। गेटमा ताला लगाइएको भए पनि नगर प्रहरीहरू भने त्यहाँ देखिएका थिएनन्। महतोले आफूमाथि ‘गुण्डागर्दी शैलीमा’ अवरोध गरिएको आरोप लगाएकी छन्।
“जनताबाट निर्वाचित भएर आएको हुँ, तर नगरप्रमुखको आदेशमा मलाई गेटमै रोकिएको छ,” महतोले सञ्चारकर्मीहरूसँग भनिन्।
नगरपालिकामा प्रमुख र उपप्रमुखबीचको विवाद पछिल्ला केही महिनादेखि जारी रहँदै आएको छ। तर यसपटकको घटनाले स्थानीय शासनमा देखिएको आपसी द्वन्द्वले गम्भीर रूप लिएको संकेत दिएको छ।
यस विषयमा नगरप्रमुख डा. दीपेन्द्र महतो वा नगरपालिकाले भने आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।
प्रतिक्रिया