काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई बिहीबार साँझ ६:०३ बजे काठमाडौं महानगरपालिका–१० स्थित रत्नराज्य स्कुल नजिकबाट पक्राउ गरेको छ।
आयोगको अनुसन्धान अनुसार सिंहले उपभोक्ता समितिहरू गठन गरी ती समितिका नाममा काम देखाई रकम भुक्तानी गरेको देखिन्छ। ती रकम आफ्नै निजी सचिव विनोद कुमार यादव तथा कार्यस्थलका कर्मचारीहरूको खातामा जम्मा गराईएको र आफ्नी श्रीमतीको खातामा समेत नक्कली बिलमार्फत रकम दाखिला गरिएको पाइएको छ। यसरी सरकारी रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको आयोगको ठहर छ।
सिंह मधेश प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनी धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–९ निवासी तथा दिनेश महतोका छोरा हुन्।
उनीविरुद्ध थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। पक्राउबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले पुष्टि गरेका छन्।
प्रतिक्रिया