Logo

मुख्य समाचार

नासा नेपालले उपत्यकाका कलेजहरूमा ड्रोन रेसिङ्ग प्रशिक्षण सुरु



काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) अन्तर्गतको ई–स्पोर्ट्स तथा ड्रोन कमिसनले उपत्यकाभित्रका विभिन्न कलेजहरूमा ड्रोन रेसिङ्गसम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

यस अभियानको सुरुवात आइतबार थापाथली क्याम्पसबाट गरिएको हो। कार्यक्रमको उद्देश्य युवालाई प्रविधिमैत्री बनाउने र उनीहरूलाई सुरक्षित तथा प्रतिस्पर्धात्मक ड्रोन रेसिङ्गमा सहभागी गराउनु रहेको नासा नेपालले जनाएको छ।

प्रशिक्षणमा ड्रोनको परिचय, प्रविधिक पक्ष, सुरक्षा तथा कानुनी विषयहरू, रेसिङ्ग कार्यविधि र आगामी कार्यक्रमहरूको बारेमा जानकारी दिइएको थियो। प्रशिक्षणमा नासा नेपाल र ड्रोन हब नेपालका विशेषज्ञहरूले प्रस्तुति दिएका थिए।

कार्यक्रममा नासा नेपाल ई–स्पोर्ट्स तथा ड्रोन कमिसनका सचिव अंकित भण्डारी, ट्रेनिङ्ग तथा मार्शल कमिसनका सचिव आशिष रौनियार, ड्रोन हब नेपालका निर्देशक प्रवीण भट्टराई, र शाश्वत रिजालले सम्बोधन गरेका थिए।

नासा नेपालले ड्रोनलाई पहिलोपटक नेपालमा खेलको रूपमा मान्यता दिएको छ र यसलाई आफ्नो आधिकारिक विधानमा समेत समावेश गरिसकेको छ।

नासा नेपालको अनुसार, निकट भविष्यमा आयोजना हुने नेशनल ड्रोन रेसिङ्ग च्याम्पियनसिपको तयारी समेत थालिएको छ। यसैअनुरूप देशभरका क्याम्पसमा सिम रेसिङ्ग र ड्रोन प्रतिस्पर्धा सञ्चालन गर्ने योजना रहेको छ।

ड्रोन हब नेपाल नासा नेपालकै कर्पोरेट साझेदारका रूपमा सो गतिविधिमा सहकार्य गरिरहेको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ९ : ४१ बजे