Logo

विश्व

प्रमुख सल्लाहकार मोहम्मद युनुसको राजीनामाको तयारी, कार्यक्षमतामा राजनीतिक असहमति बाधक



काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले हालको राजनीतिक असहमतिका कारण आफ्नो पदबाट राजीनामा दिने संकेत दिएका छन्। बीबीसी बांग्लासँगको कुराकानीमा राष्ट्रिय नागरिक पार्टी (एनसीपी)का संयोजक नाहिद इस्लामले युनुसले विद्यमान परिस्थितिमा आफू सक्षम नभएको बताएको जानकारी दिएका हुन्।

बिहीबार युनुसको निवासमा भेट गरेपछि इस्लामले भने, “यदि सबै राजनीतिक दलहरू सहमतिमा आउँदैनन् भने प्रमुख सल्लाहकारले काम गर्न नसक्ने स्पष्ट रूपमा बताएका छन्।” उनका अनुसार युनुसले जारी आन्दोलन र असहमतिका कारण आफूहरू ‘बंधक’ जस्तै बनेको अनुभव गरिरहेका छन्।

बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी)ले समेत युनुससहितका केही सल्लाहकारहरूलाई हटाउन माग गर्दै आएको छ। ढाकामा भएको प्रदर्शनमा स्थानीय सरकार सल्लाहकार आसिफ महमुद सञ्जीव भुइयान र सूचना सल्लाहकार महफुज आलमको राजीनामा पनि माग गरिएको थियो।

एनसीपीका एक शीर्ष नेताले कानुनी सल्लाहकार प्रोफेसर आसिफ नजरुल, वित्त सल्लाहकार सलाहुद्दिन अहमद र योजना सल्लाहकार डा. वाहिदुद्दिन महमुदलाई ‘बीएनपी प्रवक्ता’को रूपमा आरोप लगाउँदै सुधार कार्यान्वयन नभएमा राजीनामा गराउने चेतावनी दिएका छन्।

इस्लामले युनुसलाई पद नछाड्न आग्रह गरे पनि युनुसले आफू विचार गरिरहेको बताएका छन्। “यदि राजनीतिक दलहरूले नै उनको राजीनामा चाहन्छन् भने उनी किन बस्ने?” इस्लामले भने।

सल्लाहकार युनुसको सम्भावित राजीनामाको खबर सार्वजनिक भएपछि बंगलादेशको राजनीतिक वृत्त, समाज र व्यवसायिक क्षेत्रहरूमा विभिन्न प्रतिक्रिया देखा परेका छन्।

[श्रोत: बीबीसी ]

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ८ : ३६ बजे