Logo

कर्पोरेट

नबिल बैंक र हाम्रो पेबीच सहकार्य, मोबाइल बैंकिङबाट वालेटमा रकम लोड गर्न सकिने



काठमाडौं । नबिल बैंक र डिजिटल वालेट सेवा प्रदायक ‘हाम्रो पे’बीच सहकार्यको घोषणा गरिएको छ। यस सहकार्यपछि नबिल बैंकका ग्राहकहरूले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी ‘हाम्रो पे’ वालेटमा सिधै रकम लोड गर्न सक्ने भएका छन्।

सुविधा लागू भएसँगै प्रयोगकर्ताहरूले केही सेकेन्डमै आफ्नो बैंक खाताबाट रकम ट्रान्सफर गर्न सक्ने र हाम्रो पेले प्रदान गर्ने क्यासब्याक तथा अन्य अफरहरू लाभ लिन सक्नेछन्। दुवै संस्थाले यो सहकार्य डिजिटल भुक्तानी प्रणालीलाई सरल, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले गरिएको जनाएका छन्।

निकट भविष्यमा ‘बैंक लिङ्क’ र ‘कार्डरहित एटीएम निकासी’ सुविधा पनि सुरु हुने जनाइएको छ। बैंक लिङ्क सुविधा सुरु भएपछि प्रयोगकर्ताले आफ्नो नबिल बैंक खाता सिधै हाम्रो पेमा लिंक गरी रकम स्थानान्तरण तथा अन्य वित्तीय कारोबार गर्न सक्नेछन्। यस्तै, कार्डरहित निकासी सुविधा सुरु भएपछि मोबाइल एपमार्फत नै बैंकको एटीएमबाट रकम झिक्न सकिनेछ।

“यो सहकार्य डिजिटल नेपाल अभियानतर्फको एक महत्वपूर्ण पाइला हो,” our पात्रोका संस्थापक शंकर उप्रेतीले बताए। उनले नेपाली प्रयोगकर्ताहरूको भुक्तानी अनुभवलाई अझ सहज र सुरक्षित बनाउने लक्ष्य रहेको उल्लेख गरे।

नबिल बैंकसँगको यो सहकार्यले डिजिटल वालेट र परम्परागत बैंकिङ सेवा बीचको समन्वयलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ६ : २९ बजे