Logo

कर्पोरेट

राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३५ अर्बको निक्षेप संकलन, २१ दिनको अवधि



काठमाडौं । वित्तीय प्रणालीमा निरन्तर देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पुनः २१ दिनका लागि ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको छ।

यसअघि चैत २० गते जारी गरिएको ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको अवधि सकिएपछि राष्ट्र बैंकले प्रणालीबाट थप तरलता प्रशोचन गर्ने उद्देश्यले यो कदम चालेको हो।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियाबाट आवेदन दिन सक्नेछन्। संकलित रकम वैशाख २८ गते साँवा र ब्याजसहित फिर्ता गरिनेछ। यस निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ।

बैंकहरुले न्यूनतम १० करोडदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म माग गर्न सक्नेछन्। माग अधिक भएमा रकमको बाँडफाँड निःशेष आधारमा गरिने जनाइएको छ।

यसअघि आइतबार मात्रै राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप संकलन जारी गरेको थियो, जसमा १६ वटा बैंक तथा वित्तीय संस्थाहरुले ५१ अर्ब ४५ करोड रुपैयाँ प्रस्ताव गरेका थिए। तर राष्ट्र बैंकले ३० अर्ब मात्रै संकलन गरेको थियो। उक्त निक्षेप संकलनमा औसत ब्याजदर २.९८ प्रतिशत कायम भएको थियो।

राष्ट्र बैंकले तरलता व्यवस्थापनको क्रममा ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशतभन्दा तल जान नदिने नीति अपनाएको छ। स्थायी निक्षेप सुविधामा ३ प्रतिशत ब्याजदर तोकिएको छ भने निक्षेप संकलन उपकरणको ब्याजदर भने बोलकबोलमार्फत तय हुन्छ।

विगत केही समयदेखि बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएको अवस्था रहँदै आएको छ। कर्जाको प्रवाह अपेक्षा अनुसार नभएकाले ब्याजदर घटिरहे पनि कर्जामा तीव्रता आउन सकेको छैन। यस्ता परिस्थितिमा राष्ट्र बैंकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा (SDF) को माध्यमबाट तरलता नियन्त्रण गर्न नियमित हस्तक्षेप गर्दै आएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १ : ३१ बजे