जनकपुर । चैत १५ गते काठमाडौंको तिनकुने, कोटेश्वर क्षेत्रमा भएको प्रदर्शनमा राज्य पक्षबाट भएको भनिएको दमनात्मक कारबाहीप्रति गम्भीर आपत्ति जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाले जिल्ला प्रशासन कार्यालय, धनुषामार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको ज्ञापनपत्रमा प्रदर्शनका क्रममा शान्तिपूर्ण जमघटमा रहेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको आरोप लगाइएको छ ।
ज्ञापनमा प्रदर्शनका क्रममा सर्वसाधारणको घरको छतबाट म्याद सकिएका अश्रुग्यासका सेलहरूसहित अन्धाधुन्ध गोली प्रहार भएको, सविन महर्जनलाई लक्षित गरी गोली हानी हत्या गरिएको, घरमा आगलागी हुँदा उद्धार नगरी पत्रकार सुरेश रजकको मृत्यु भएको, र कार्यक्रमसँग कुनै सरोकार नभएका रेविका खत्री र उनका दाजुमाथि गोली प्रहार भएको उल्लेख छ ।
ज्ञापनमा प्रहरी स्रोतको विवरण उल्लेख गर्दै चैत १५ मा मात्र ७४६ राउन्ड अश्रुग्यास, १९२ ब्ल्याङ्क फायर, ५८ हवाई फायर, २३९ छर्रा र २ राउन्ड पेस्तोलबाट गोली चलाइएको दाबी गरिएको छ । यति धेरै फायरिङको आवश्यकता किन पर्न गयो भन्ने सवाल उठाउँदै, राज्य स्वयंले सो दिनको प्रदर्शनलाई हिंसात्मक बनाउने प्रयास गरेको आरोप लगाइएको छ ।
राप्रपाले सरकारका यस्ता क्रियाकलापहरू लोकतन्त्र, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको स्पष्ट गर्दै घटनाको निष्पक्ष र स्वतन्त्र छानबिनको माग गरेको छ। ज्ञापनपत्रमा पूर्व न्यायाधीशको अध्यक्षतामा स्वतन्त्र छानबिन आयोग गठन, गृहमन्त्रीको राजीनामा, संलग्न सुरक्षाकर्मी र प्रशासनिक अधिकारीहरूको निलम्बन, मृतकलाई शहीद घोषणा, क्षतिपूर्ति, झुठा मुद्दा खारेजी, निर्दोषहरूको रिहाइ र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
राप्रपा धनुषाका अध्यक्ष रामचन्द्र यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा राप्रपाले यस घटनालाई लिएर पार्टीले अघि सारेको ४० बुँदे मागलाई सम्बोधन गर्न वार्ता टोली गठनको पनि आग्रह गरेको छ ।


प्रतिक्रिया